असोज २८, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेपछि कार्यालय बन्द गरिएको छ ।
नगरपालिकामा कार्यरत २, नेपाल विद्युत् प्राधिकरणका १, राष्ट्रिय वाणिज्य बैंकका १ कर्मचारी, २ व्यवसायी, तामाकोशी बोर्डिङ स्कूलका १ र प्राथमिक स्वास्थ्य केन्द्रका १ सहित एकैदिन १७ जनामा कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।
केही दिनयता मन्थली बजारमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकामा कोरोना संक्रमण उच्च बन्दै गएको छ । मन्थली बजार क्षेत्रमा कोरोना संक्रमितको संख्या बढे पनि दिनप्रतिदिन भीड बढ्ने क्रम घटेको छैन ।
नागरिकले मास्क प्रयोग र सामाजिक दूरी कायम नगर्नु संक्रमण बढ्नाको मुख्य कारण छन् । नगरपालिकाले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताए । नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद् र फोहोर व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने चल्ने छ ।
यस्तै मन्थलीमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रले पनि आकस्मिक र प्रसुतिबाहेकका अन्य सेवाहरु बन्द गरेको जनाएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो । अर्को सुचना नआउन्जेलसम्मका लागी आकस्मिक र प्रसुित सेवा मात्रै संचालन हुने केन्द्रले जनाएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाबाटै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या १३४ पुगेको छ । तीमध्ये ६७ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । रामेछाप स्थायी घर भई काठमाडौंंलगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ३३ र पुरुष ८७ गरी १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा हालसम्म २ हजार २४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई ध्यानमा राखी जिल्लामा हालसम्म १०८ शय्याको आइसोलेसन कक्ष र ४९० शय्याको क्वारेन्टीन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । –रासस (फाईल फोटो)