असोज २६, बुटवल । मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् । उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका छन् ।
नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर लुम्बिनी नामाकरण ‘महेन्द्रकालीन’ भएको टिप्पणी गर्दै आपत्ति प्रकट गरेका छन् । मगर संघका अध्यक्ष नवीन रोका मगर र मगरात संयुक्त संघर्ष समितिका संयोजक बोम दर्लामी मगरले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा प्रदेशको नाम लुम्बिनी राखिनु मगरातबासी जनताको चाहना विपरीत, नेपालको संविधान र संघीयताको मर्म विपरीत कार्य भएको उल्लेख छ ।
कुनै धार्मिक पहिचानका आधारमा मात्र सीमित भएर ‘लुम्बिनी’ नामाकरण गरिएको भन्दै उनीहरुले ऐतिहासिक मानव पहिचान र सभ्यताको आधारमा ‘मगरात–लुम्बिनी’ नामाकरण गर्न माग गरेका छन् ।
आफूहरुको मागलाई बेवास्ता गरिएमा साविकका प्रदेश नं. ४, ५ र ६ को ऐतिहासिक मगरात भूगोललाई समेट्ने गरी एकीकृत मगरात स्वायत्त प्रदेश निर्माणका लागि सशक्त आन्दोलन गर्न वाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत् दिइएको छ ।
यही असोज २० गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘लुम्बिनी’ नामकरण गर्ने र राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित गरेको थियो ।