असोज २६,दाङ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दाङका ४ सरकारी कार्यालय बन्द भएका छन् । कोभिड–१९ संक्रमणका कारण जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् ।
प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । त्यसैले जिल्ला प्रशासन कार्यालयबाट हुने शान्तिसुरक्षा, मुद्दालगायत अत्यावश्यकबाहेकका अन्य सेवाहरु ३० गतेसम्मका लागि बन्द गरिएको प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिए ।
यसैगरी जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।