भागेर पोइल गएकी बालिका ६ दिनपछि फिर्ता !

    २२ असोज, २०७७



असोज २२,बझाङ । बझाङमा बालिका एवं किशोरीहरू भागेर बिहे गर्ने क्रम रोकिएको छैन । साईपाल गाँउपालिकामा सानै उमेरमा बालविवाह गरिदिने र कतिपय किशोर– किशोरीहरुले आफै भागेर बाल विबाह गर्ने प्रचलन बढ्न थालेपछि यसलाई रोक्न गाँउपालिकाले नयाँ नीति ल्याएको छ ।

साइपाल गाँउपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई पुरुस्कार दिने निर्णय गरेको छ । जिल्लाकै विकट र सदरमुकामबाट ४ दिनको पैदल यात्रमा पुगिने साइपाल गाँउपालिकाले बालबिवाह रोक्न यस्तो कदम उठाएको गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो ।

विद्यालय जाने उमेर समुहका बालबालिका रोक्ने जिम्मा विद्यालयलाई दिएका कारण आफूहरु बालविवाहको विरुद्ध लागिपरेको र अहिलेसम्म २ बालिकालाई उद्धार गरी माईती घरमा नै ल्याउन सफल भएको साइपाल गाँउपालिका वडा नं. ४ स्थित धुली माविका प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो ।

साइपाल गाँउपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई सम्मान स्वरुप २० हजार नगदसहित सम्मान गर्ने कार्यक्रम लागु गर्ने भएको छ । साथै गाँउपालिकाभित्र वा बाहिर २० वर्ष उमेर नपुग्दै कोही कसैले विवाह गरी ल्याएको वा भागेको खण्डमा प्रहरी प्रशासनसँग अनुरोध गरी कार्वाही गर्ने गाँउपालिकाको नीति छ ।

गाँउपालिकामा विगतदेखि नै बालविवाह गर्ने प्रचलन भएको र यसलाई कम गर्नका लागि आफुहरुले थुप्रै प्रयास गरेको बताउँदै साइपाल गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले उमेर नपुग्दै विवाह गर्ने  प्रचलनलाई निरुत्साहित पार्न र जनचेतना विकास गर्नका लागि गाँउपालिकाले यस्तो निर्णय गरेको हो । उनले भने, ‘उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दो क्रमलाई रोक्न नसकेपछि आफुहरुले २० वर्ष नपुगी विहे गर्नेलाई प्रहरीद्वारा कार्वाही गर्ने र २० वर्षपछि मात्र विहे गर्ने जोडीलाई नगद पुरस्कार दिने निर्णय गरेका हौँ ।’

 भागेर पोइल गएकी बालिका फिर्ता 

छोरासँग भागेर आएकी बालिकालाई ‘पोइली’ पक्षले बालिकाको माइतीमा नै फिर्ता गरेका छन् । साईपाल गाँउपालिका वडा नम्बर ४ की १६ वर्षिया एक बालिका मष्टा गाँउपालिमा वडा नम्बर २ का १९ किशोरसँग भागेर आएकी थिइन् ।

असोज १४ गते उनले आफ्नो घरमा भित्र्याएकी बालिकालाई केही दिनमा नै माइत फिर्ता गरिएको हो । भागेर आएको भोलिपल्ट धुली माविका प्राध्यानाध्यपक नवराज जोशीले बालिकालाई फिर्ता गर्न आग्रह गर्नुभयो । बालिका फिर्ता नगरे प्रहरीकहाँ बालविवाहको उजुरी दर्ता गर्ने भनेपछि बालकका आमाबुवाले बालिकालाई फिर्ता गरेको  प्रधानाध्यापक जोशीले बताउनुभयो ।

यता बालिकाका आमाबुबालाई छोरी फिर्ता गर्न आग्रह गर्दा आमाबुबाले विवाह गर्न भनेर भागेर अर्काको घर गएकी छोरी आफुहरुका लागि मरेसमान भएको भन्दै फिर्ता नबोलाउने अडान लिएका थिए । तर प्रध्यानाध्यापक जोशीले यदि छोरीलाई फिर्ता नल्याएमा बालविवाह सम्बन्धी उजुरी गरेर प्रहरीको जिम्मा लगाउने भनेपछि २० असोजमा बालिकालाई माइतीघरमा नै ल्याएका हुन् ।

पोइल गएकी बालिकाको पढाई खर्च भने पोइली पक्षले नै बेहोर्नुपर्ने भएको छ । बालिकाका पोईली पक्ष, माईती पक्ष र विद्यालयका प्रधानाध्यापक लगायत अन्य केही जनप्रतिनिधिहरुले बसेर बालिकाको पढाई खर्च पोइली पक्षले बेहोर्नुपर्ने सहमति गरेका हुन् ।

बालिकालाई तत्कालका लागि माइती घरमा पठाएको भए पनि २० वर्षपछि ती बालिकाले अहिले भागेर आएकै बालकसँग बिहे गर्ने बाटो भने खुल्लै रहनेछ । २० वर्ष नपुगुन्जेल माईती घरमा नै बस्ने र २० वर्ष पूरा भएपछि मात्रै विवाह गरिदिने दुवै पक्षबीच सहमति भएको जोशीले बताउनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post