असोज २२, जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भएको जीप दुर्घटनामा परेका ६ जनाको शव उठाउन गाउँलेले अवरोध गरेका छन् । बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए ।
बेपत्ता भनिएका छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको पहिचान खुलेको छ । चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
शव निकाल्न आएका प्रहरीलाई स्थानीयवासीले अवरोध गरेका हुन् । मापदण्डविपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै शव निकाल्न नदिएको प्रहरीले जनाएको छ ।
जुनिचाँदे–१ लोड्नेदेखि लुहादहसम्म निर्माण भएको सडक ठेकेदारको लापर्वाहीका कारण मापदण्डविपरीत निर्माण भएको स्थानीयको आरोप छ । पटक–पटक सो सडक मापदण्डविपरीत निर्माण भएको आवाज उठे पनि सरोकारवालाको नसुन्दा दुर्घटना बढेको उनीहरूको गुनासो छ ।
चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजानी गरेका छन् । पीडितले अझै घटनास्थलमा प्रहरीलाई जान नदिएको डिएस्पी श्रेष्ठले जानकारी दिए । जनप्रतिनिमाथि आक्रमणको प्रयास भएका कारण घटनास्थल जान नसकिएको कावाध्यक्ष आचार्यले जानकारी दिए । – रासस