२०७७ असोज २१, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो ।
बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए ।
सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।
यस्तै सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन उपत्यकाबासीलाई आग्रह गरेको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपत्यकामा संक्रमण बढिरहेको बताउदै सतर्क हुन आग्रह गरेका हुन् ।
प्रवक्ता ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्ने भन्दै सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी रहेको बताए ।