असोज २०, काठमान्डौ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित संसदीय समितिको सुझावका आधारमा नै प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा आएको बताएका छन् ।
प्रदेश सभाको बैठकलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले संसदीय विशेष समितिको सुझावका आधारमा दाङ प्रस्ताव गरेको बताएका हुन् ।
‘समितिले पहिलो विकल्प दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु सिफारिश गरेको थियो, सोही आधारमा प्रदेश सिफारिश गरिएको हो,’ बैठकमा मुख्यमन्त्री पोखरेलले भने ।
मुख्यमन्त्री पोखरेलले बुटवल–भैरहवालाई वित्तीय करिडोरको रूपमा विकास गर्ने बताए । उनले प्रदेशको राजधानीको निर्णय गर्ने विषय प्रसव बेदना जस्तै भएको दाबी गरे । "नयाँ ईतिहासको निर्माण गर्दा पिडा हुन्छ । कहिलेकाँही असहज स्थिती सिर्जना हुन्छ" पोखरेलले भने । प्रदेशको राजधानीको प्रस्तावमाथि मंगलवार प्रदेश सभामा मतदान हुने कार्यक्रम छ ।