असोज २०, बुटवल । प्रदेश ५ को स्थायी राजधानीका लागी प्रदेशको प्रदेशसभामा आज मतदान हुँदैछ । सोमबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरेका थिए ।
आज बस्ने प्रदेश सभाको बैठकमा त्यसकै टुगों लगाउन मतदान हुँदैछ । विपक्षी कांग्रेसले प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । प्रदेशको नाम लुम्बिनी भने असहमती नरहेको कांग्रेसले बताएको छ । सोमबारको प्रदेशसभामा मन्त्री केसीले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव गर्दै गर्दा कै क्रममा विपक्षी कांग्रेसका सांसदहरुले विरोध जनाउँदै कुर्सी र टेबल तोडफोड गरेका थिए ।
आज दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामबारे मतदान गर्ने तयारी गरिएको संसद सचिवालय स्रोतले बताएको छ ।
प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेकपासँग रहेको छ । नेकपाका ६१ सांसद छन् । ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ ।
प्रदेश राजधानी देउखुरीमा सार्ने निर्णयविरुद्ध सत्तारूढ नेकपाकै १४ सांसदले नोटअफ डिसेन्ट लेखेका थिए। तर पनि नेकपाले आफ्ना सांसदलाई प्रस्तावका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन् । पार्टीले ह्वीप जारी गरेको भएपनि आफूहरुले त्यसलाई नमान्ने कतिपय सांसदको भनाइ छ ।
प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । तर उनीहरु बुटवल वा दाङ भन्नेमा स्पष्ट भइसकेका छैनन् ।