असोज १९, बुटवल । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको आरोप लगाएको छ ।
प्रदेशसभाको सोमबारको बैठक सुरु हुनासाथ समय लिएर बोलेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्ने बताए ।
बुटवल, दाङ वा कपिलवस्तु जहाँ राजधानी बनाए पनि औचित्य प्रमाणित गरेर प्रस्ताव ल्याउनुपर्ने बताए । तर मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्का अध्यक्षको बैशाखी टेकेर एकलौटी प्रस्ताव ल्याएको उनले बताए ।
प्रमुख विपक्षी दल कांग्रेसले प्रदेशको प्रदेशसभा बैठकमा नारावाजी गर्दै अवरुद्ध ग¥यो । प्रदेश सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको विरोधमा कांग्रेसले प्रदेशसभा भित्रै नराबाजी गरेको हो ।
कांग्रेस सांसदहरुले प्रदेशसभाको रोष्टम समेत घेराउ गरे । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् । २ बजेसम्मका लागि स्थगित गरिएको संसद बैठक अझै बस्न सकेको छैन् ।