यसपाली दशैँ तिहारमा गाउँ जान मरिहत्ते नगरौँ : प्रा.डा. गौतम

 कोरखबर   १६ असोज, २०७७



असोज १६,काठमान्डौ । सरकारले यो पटकको दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न आग्रह गरेको छ। कोरोना संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन्। उनले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन पनि भनेका छन्।

 ‘ठूला चाडबाड आउँदैछन्। हामी गाउँगाउँ जाँदै छौँ,’ उनले भने, ‘एक पटक सोचौँ कतै हामीले कोरोना त बोकेका छैनौँ। जेष्ठ नागरिकसँग कोरोना सँग लड्ने क्षमता कम हुन्छ। उहाँहरुलाई संक्रमण भए अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ।  त्यसैले दशैँ अर्को पटक पनि आउँछ। बा आमा कहिल्यै आउनुहुन्‍न।’ 

उनले कोरोना आफैँ नसर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि भनेका छन्। ‘कसैलाई भेट्नै परे सामाजिक दूरी कायम गरौँ। जेष्ठ नागरिकलाई भेट्न परे दूरी राखेर भेटौँ। अंकमाल गर्ने नगरौँ, बुढा बुढीले प्रयोग गर्ने सामान सफा गरौँ, औषधी र खानपानको विशेष ख्याल गरौँ’, उनले भने।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post