एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी !

 कोरखबर   १६ असोज, २०७७



असोज १६, काठमान्डौ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो ।

कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताए ।

उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ । कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ ।

सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ । कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post