असोज १४, रुकुम- रुकुम (पूर्व) को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा हटाईएको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको जानकारी गराएको छ ।
जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले यही असोज ७ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । रुकुमकोटमा निषेधाज्ञा जारी हुनुभन्दा दुई साताअघिदेखि रुकुमकोट बन्द गरिएको थियो ।
रुकुमकोटमा निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । अहिलेसम्म जिल्लामा कुल ७४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ छ ।