कास्की, १३ असोज: लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीले यस आयोजनाको काम पाँच महिनाभन्दा बढी समय ठप्प भएकामा अहिले एक जापानिज र ७० जना नेपाली मजदूरले काम शुरु गरेका छन् । अन्य जापानी प्राविधिक नहुँदा आयोजनाको काममा समस्या भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा निर्माणाधीन आयोजनाको काम आगामी दशैँपछि भने पूर्ण क्षमतामा शुरु हुने जनाइएको छ । यही अक्टोबर २ तारिखमा जापानिज प्राविधिक आउने निश्चित भएपछि नेपाली र जापानी मजदूर तथा प्राविधिकहरुबाट आयोजनाको काम बन्दाबन्दीअघिकै गतिमा अघि बढ्ने भएको हो ।
परराष्ट्र मन्त्रालय तथा खानेपानी संस्थानबाट सहजीकरणपछि आयोजनाको जिम्मा लिएको जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’का मुख्य आठजना प्राविधिक आउने निश्चित भएको र नेपाल आएपछि क्वारेन्टिन लगायतका मापदण्ड पालना गर्नुपर्ने भएकाले दशैँपछि पूर्ण क्षमतामा काम शुरु हुने खानेपानी संस्थानका इन्जिनीयर सन्तोषकुमार दासले बताए । उनले भने, “लकडाउनले पाँच महिना आयोजनाको काम पूूरै रोकिएकामा भदौबाट इमर्जेन्सी मेन्टिनेन्सको काम नेपाली कामदारबाट भइरहेको छ । निर्माण व्यवसायीका प्राविधिक केही दिनमै आउने निश्चित भएकाले अब दशैँपछि आयोजनाको काम पूर्ण क्षमतामा अघि बढ्छ ।”
सन् २०२१ अगस्त ११ भित्रमा आयोजना सम्पन्न गर्नुपर्ने सम्झौता रहे पनि हालसम्म २५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । हालसम्म ५६ प्रतिशत प्रगति हुनुपर्नेमा बन्दाबन्दीले लक्ष्य पूरा गर्न चुनौती थपिएको बताइएको । खानेपानी सुधार आयोजनाअन्तर्गत हाल पोखरामा अप्रशोधित पानी वितरण भइरहेकामा मर्दी खोलाको पानी प्रशोधन गर्ने तथा वितरण लाइनको सुधार गर्ने योजना छ । रासस