असोज १३, ललितपुर । ललितपुर महानगरपालिकामा जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतिएको छ ।
अभियान सुरु गर्दै झम्सिखेल क्षेत्रका होटल, रेष्टुरेन्ट अगाडि रहेका जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतिएको हो । महानगरलाई स्वस्थ, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान सुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो ।
यस्तै ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा फुटपाथ पसल राख्न नपाइने भएको छ । पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको हो । फुटपाथमा तरकारी व्यापार, निर्माण सामग्री थुपार्न, गाडी पार्क गर्न र वर्कसपको काम गर्न समेत रोक लगाएको उहाँले बताउनुभयो ।
महानगरपालिकाका विभिन्न ठाउँलाई चरणबद्ध रुपमा व्यवस्थित बनाउँदै लैजाने योजना रहेको नगर प्रहरी प्रमुख हाछेथुको भनाइ छ । पैदल यात्रुलाई मध्यनजर गरेर फुटपाथ छुट्याइएको भएकाले सहजताका लागि यो निर्णय गरिएको उहाँले बताउनुभयो ।