काठमाडौं । कोरोना महामारीपछि रोजगारी गुमाएका पर्यटन मजदुरहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । पर्यटन मजदुर संघर्ष समिति काठमाडौंको आयोजनामा कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् ।
‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे अफ टुरिजम वर्करस’, ‘डन्ट किल नेपाल टुरिजम’ लगायत विभिन्न नारा लेखिएका पम्प्लेटका साथ प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको र पर्यटन मजदुरको मर्का नबुझेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा समेत माग गरेका छन ।