असोज ९,काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति भन्दै प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् ।
३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२ । ०६३ को आन्दोलनपश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक पटक सदस्यमा नियुक्त गरेको थियो ।
काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन् । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
यसैविच कार्यवाहक अध्यक्ष श्रेष्ठले पदबाट राजीनामा दिएपछि प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् । बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो ।