असोज ३,काठमान्डौ । विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच भएको विवाद तेस्रो दिनसम्म पनि साम्य नहुदा सर्लाहीमा कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा बजारमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।
शुक्रबार मलंगवा-३ विश्वकर्मा चोकबाटमूर्ति सेलाउन डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि वादविवाद भएको थियो।
डिजे बजाएको निहुँमा वादविवाद भएको विषयमा शुक्रबार बिहान फेरि दुई समुदाय आमनेसामने भएका थिए। प्रशासनका अनुसार शनिबार पनि दुवै समुदाय निस्केपछि तनाव झनै बढेको थियो। दुई समुदायबीच अप्रिय स्थिति आउन नदिन कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ।