असोज ३,काठमाडौं । काठमाडौं महानगर क्षेत्रका ४ सय ४४ जना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन्। महानगरपालिकाका अनुसार शुक्रबारसम्म कोरोना संक्रमण पुष्टि भएका ४ सय ४४ संक्रमित सम्पर्कमा छैनन्।
महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा ४ सय ४४ संक्रमितको ठेगाना नखुलेको उल्लेख छ। पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका उनीहरू सम्पर्कमै नआएपछि ती कहाँ छन् र उनिहरुको माध्यमबाट अरु कतिमा संक्रमण फैलियो होला भन्ने तनाव महानगरपालिकालाई भइरहेको छ।
काठमाडौंमा स्वाब दिएर संक्रमण पुष्टि भएपछि मोबाइल स्विच अफ गर्ने त्यस्ता व्यक्ति पत्ता लगाउने जिम्मा स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले काठमाडौं महानगरपालिकालाई दिने गरेको छ। तर महानगरपालिकाले पनि फेला पार्न नसकेपछि उनीहरुको खोजी गर्ने जिम्मा प्रहरीलाई दिने गरिएको छ।
प्रहरीले पनि ति संक्रमित व्यक्तिहरुलाई फेला पार्न नसकेपछि महानगरपालिका बेपत्ताको संख्या सूची सार्वजनिक गर्न बाध्य भएको छ।