शनिबारसम्मै वर्षाको सम्भावना, सतर्क रहन आग्रह !

 कोरखबर   २ असोज, २०७७



असोज २, काठमाडौँ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मनसुनी न्युनचापीय रेखाको प्रभावले देशको अधिकांश भू–भागमा वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् । ‘यो क्रम शनिबारसम्म कायम रहन्छ, यो अवधिमा आकाश खुल्ला भई घाम लाग्ने सम्भावना छैन, राति र बिहानीपख वर्षा हुनेछ, दिउँसोको समयमा वर्षा रोकिए पनि बदली नै रहनेछ’, उनले भनिन् ।

मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि यस वर्ष ढिलो गरी मनसुन बाहिरिने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । –रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post