मकवानपुरमा मंगलबारदेखी निषेधाज्ञा हट्ने,बन्दको स्वरुप परिवर्तन

 कोर खबर   १५ भदौ, २०७७



 मकवानुपर – मकवानपुरका चार  वटा पालिकामा लगाइएको निषेधाज्ञा मङ्गलबारदेखि हटाइने भएको छ । बजार क्षेत्रमा बन्द गर्ने स्वरुप पनि परिवर्तन गरिने भएको छ । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका भरि र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा मङ्गलबारदेखि हट्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।

सोमबार बिहान बसेको कमान्ड पोस्टको बैठकले निषेधाज्ञा हटाएर दिउँसोको समयमा बजार र यातायात भने बन्द राख्ने निर्णय भएको उहाँले बताउनुभयो । यही निर्णयपछि मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषेधाज्ञा पनि हटाइने उहाँले बताउनुभयो । निषेधाज्ञा हटेसँगै हेटौँडाका चोक चोकमा परिचालन गरिएका नेपाली सेना ब्यारेकमा फर्कने छन् ।

अहिलेको स्वरुपलाई मङ्गलबारदेखि भने केही सहज बनाइने प्रजिअ नेपालले बताउनुभयो । बिहान १० बजेसम्मका लागि सबै प्रकारका व्यवसाय सञ्चालन गर्न दिइने र यातायात भने बन्द नै गरिने भएको छ । दिउँसो केही घण्टा बैँक तथा कार्यालय खोल्नका लागि सहज बनाइएको उहाँले बताउनुभयो । 

बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको भए पनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २५ सम्म लागू हुनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post