काठमाडौं । महाधिवेशनको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन र मनोनयनलाई प्राथमिकता दिन थालेपछि त्यसको विरोध गर्दै नेता रामचन्द्र पौडेल समूहले लिखित असहमति बुझाएको छ । सभापति देउवालाई बुझाइएको असहमतिमा हाल भएका विभाग गठन र मनोनयन फिर्ता लिन माग गरिएको छ ।
पार्टी सभापति देउवालाई बुझाइएको लिखित असहमतिबारे जानकारी दिन नेता पौडेल र महामन्त्री डा.शशांक कोइरालाले आज दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । पौडेल समूहले बुधबार पार्टी कार्यालयमा केन्द्रीय सदस्यको भेला डाकेलगत्तै देउवाले जेष्ठ नागरिक सदस्य विभागलाई पूर्णता दिएका थिए ।
नेता पौडेलले बिहीबार बिहान मात्र अनुशासन समितिको कारबाही प्रक्रियाबारे असन्तुष्टि जनाउँदै कार्यक्षमतामाथि नै प्रश्न उठाएका थिए ।