अविरल वर्षाका कारण कैलालीको सयौं घर डुबानमा परेको छ । कैलालीको भजनी नगरपालिका, जोशीपुर, टीकापुर, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका क्षेत्रलगायतका सयौं घर डुबानमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतीक बिष्टका अनुसार जिल्लाको भजनी, जोशी र टीकापुर क्षेत्र जलमग्न भएको छ । उनका अनुसार भजनी नगरपालिकामा मात्रै ७० भन्दा बढी घर डुबानमा परेको छ ।
जोशीपुर गाउँपालिकामा ३० घर डुबानमा परेको उनले जानकारी दिए । घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएको भजनीका स्थानीय गंगा चौधरीले बताए । त्यस्तै, जोशीपुर क्षेत्र रातीदेखि नै जलमग्न भएको नेकपा नेता नेपबहादुर चौधरीले जानकारी दिए ।
अविरल वर्षापछि जिल्लाको कर्णाली, कान्द्रा, काँडा, पथरैया, मोहना, खुटिया, घुराहालगायत नदीमा पानीको बहाव बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा बर्षा भईरहेको छ ।