काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे कडा टिप्पणी गरेका छन्।
केही दिनअघि कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै अध्यक्ष दाहालले ओलीमाथि कडा टिप्पणी गरेका थिए। उनले त्यसबेला एकता पूरा नहुँदै ओलीकै सक्रियता नेकपा एमाले दर्ता गराएको आरोप लगाएका थिए।
आइतवार उनले त्यस्तै शैलीमा ओलीबारेमा टिप्पणी गरेका छन्। सुदूरपश्चिम प्रदेशबाट खुमलटार पुगेका नेताहरूसँग छलफलको क्रममा उनले ओलीको अहंकारी प्रवृत्तिले पार्टी नै संकटमा परेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीको अहंकारी प्रवृत्तिको कारणले पार्टी एकता संकटमा परेको अध्यक्ष दाहालले आरोप लगाएका छन्।
‘प्रधानमन्त्री ओलीको अहंकारी प्रवृत्तिले पार्टी एकता संकटमा पुग्यो, उनको भनाइ उद्धृत गर्दै नेता खगराज भट्टले भने, उहाँमा पार्टीको निर्णय पनि नमान्ने र आफैं पनि केही नगर्ने प्रवृत्ति देखियो।
अध्यक्ष दाहालको सबैभन्दा गुनासो पार्टी र सरकार दुवैमा ओलीले एकलौटी गरेकोमा थियो। प्रधानमन्त्रीले सरकार प्रमुख पनि आफैं पार्टीको अध्यक्ष पनि आफैंमात्र भएजस्तो व्यवहार देखाउनुभयो। पार्टी र निर्वाचनको घोषणापत्र पनि भुल्नुभयो’, नेताहरुसँग अध्यक्ष दाहालले भने, ‘पार्टीमा एकलौटी चल्नुभयो। एकलौटी प्रवृत्ति बदल्न फरक ढंगबाट दबाब दिन खोज्दा पार्टी फुटाउन खोज्नुभयो।’
दाहालले ओलीलाई नै अहिलेको समस्याको जडको संज्ञा दिएका छन्। उहाँ (प्रधानमन्त्री ओली) पार्टीभित्रको समस्याको जड हुनुहुन्छ। हामीले समस्या समाधानका लागि अनेक प्रयास गरिरहेका छौँ, दाहालले भने, छलफलमार्फत एकतावद्ध भएर अघि बढ्न खोजिरहेका छौँ। तर, उहाँ बैठकमा आइदिनुहुन्न।
ओली एकलौटी चल्ने र बैठकमा पनि नआउने गर्नाले समस्या चुलिएको उनले बताए। ओली बैठकमा पनि नआउने कारणले पार्टीभित्रको विवादमा अहिलेसम्म सहमति जुट्न सकेको छैन,’ दाहालले भने, पार्टी एकता जोगाउन हर प्रयत्न भइरहेको छ। सहमतिको प्रयास भइरहेको छ।
ओलीले पार्टी र सरकार दुवै एकलौटी चलाउन खोजेकाले समस्या भएको पटक पटक दोहोर्याए। प्रधानमन्त्रीजी छलफल र बैठकमा पनि सहभागी हुन चाहानुहुन्न। एकलौटी चल्न खोज्नुहुन्छ,’ उनले थपे, ‘त्यसैले पार्टीभित्रको विवाद अहिलेसम्म समाधान हुन सकिरहेको छैन।’