सबै सार्वजनिक गाडी चल्न थाले, स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य

 कोरखवर   ८ सावन, २०७७



काठमाण्डाै – बिहीबारदेखि सबै सार्वजनिक गाडी चल्न थालेका छन् । यातायात व्यवसायीहरुले बिहीबारदेखि सबै सार्वजनिक यातायातका साधन चलाउन थालेका हुन् ।

एक सय २० दिने लामो लकडाउनको अन्त्यसँगै काठमाण्डाै उपत्यकाका सडकमा सवारी चापसमेत बढ्न थालेको छ । काठमाण्डाै उपत्यकालगायत देशैभर छोटो दुरीमा सार्वजनिक गाडी गुडिरहेका छन् ।

तर लामो दुरीका गाडीलाई भने भदौ १ गतेदेखि मात्र चल्न दिने सरकारले जनाएको छ । त्यसैले एक जिल्लाबाट अर्को जिल्लामा जान पासको व्यवस्था कायमै छ । सरकारले लकडाउन अन्त्य गरेको बताए पनि काठमाण्डाै उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैबीच गाडी चलाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धित व्यवसायीले आफै व्यवस्था गर्ने भनिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले गाडीमा स्यानिटाइजरको व्यवस्था व्यवसायी आफैले गर्नुपर्ने, यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री, पन्जा र पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउनुपर्ने लगायतका व्यवस्था गरिएको जानकारी दिनुभयो । 

सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सहचालकले नमानेकाे यात्रुले गुनासो गरेका छन् । सरकारले भौतिक दुरी कायम गरी यात्रु राख्नुपर्ने, ५० प्रतिशत बढी भाडा लिन मिल्ने भने पनि व्यवसायीले तोकिएको भन्दा धेरै सङ्ख्यामा यात्रु चढाएर दोब्बर भाडा लिइरहेको गुनासो बढ्न थालेको छ । यस्ता गुनासको आधारमा ट्राफिक प्रहरीले गुडिरहेका बसमा अनुगमन गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड नअपनाउने गाडीलाई कारबाही गरिनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post