मनसुन कमजोर बन्दै, तर जोखिम भने अझै

 कोरखवर   ८ सावन, २०७७



काठमाण्डाै – देशभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भइरहेकाे छ ।   

अहिले वर्षा गराउने न्यून चापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले राति मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । साउन ४ र ५ गते जसरी लगातार वर्षा भने नहुने तर केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उहाँले बताउनुभयो । 

'मनसुन कमजोर छ तर जोखिम टरिसकेको छैन, जमिन गलिसकेकाले सामान्य वर्षाले पनि असर गर्न सक्छ, बाढीको बहाव धेरै नघटेकाले अझै सचेत हुनुपर्छ', कँडेलले भन्नुभयो । बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, वाग्मती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

बिहीबार अपराह्न देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी तीन दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।   

कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र वाग्मतीको केही सहायक नदीमा आकस्मिक बहाव आउन सक्ने भएकाले सचेत रहन भनिएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post