म्याग्दीमा बाढीले पाँचवटा पुल बगायो, एकजना बेपत्ता

 कोरखवर   ६ सावन, २०७७



म्याग्दी : सोमवार विहानदेखिको अविरल वर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्।

सोमबार (हिजो) साँझ भजेनी खोलाको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बगाएको हो। बाढीले बगाएका गर्वुजा मंगलवार विहानसम्म पनि बेपत्ता छन्।  बेपत्ता गर्बुजाको खोजी भइरहे पनि मंगलबार बिहानसम्म नभेटिएको अन्नपूर्ण गाउँपालिका ३ का वडा सदस्य हस्तबहादुर गर्वजाले जानकारी दिएका छन्।

म्याग्दीका तीनवटै ठूला नदी कालीगण्डकी, म्याग्दी र रघुगंगामा आएको बाढीले जिल्लाका विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ भने दुई दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ। दानका पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनका अनुसार दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधिन र पुरानो मोटरेबल पुल पुरेको छ।

घाँस खोलामा निर्माणाधिन अर्को मोटरेबल पुल पनि पुरेको बाढीले पुरेको छ । पर्यटन व्यवसायी शेरचनका अनुसार रुप्से झरना र कालीगण्डकी नदीमा आएको बाढीले संसारै सबै भन्दा गहिरो अन्धगल्छी पनि संकटमा परेको छ। बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ्गतातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ।

रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ। मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्ट्रक्सनको एक वटा एक्साभेटर (डोजर) र पार्कीङ गरेर राखिएको बस बगाएको छ।  बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ।

सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुल र रुप्से ब्लक उद्योग पनि बगाएको छ। दानामा निर्माणाधिन २२० केभी क्षमताको विद्युत सबस्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको छ। 
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post