देशभर बर्षाको कहरः १२ ठाउँमा पहिरो, पाँच जनाको मृत्यु
कोरखवर ५ सावन, २०७७
काठमाडौं : अविरल वर्षाका कारण पछिल्लो २४ घण्टायता देशका विभिन्न १२ ठाउँमा पहिरो, पाँच जनाको मृत्यु र एक जना हराइरहेका छन्। मृत्यु हुनेहरूमा काठमाडौं, कालिकोट, गोरखा र दार्चुलाका छन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा हिजो बेलुकी पहिरोले पुरिएर स्थानीय २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ। यस्तै, कालिकोटको पातलझरना गाउँपालीकामा गएको पहिरोले एक जनाको मृत्यु भएको हो भने दार्चुलाको नौगाड गाँउपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ।
त्यस्तै, गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलको कौदीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको र मृत्यु हुनेमा ३६ वर्षीया लछीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
यस्तै, अविरल वर्षाका कारण गोरखाको गोरखा नगरपालिका–१३ स्थित तीनकिलोमा पहिरोले एक घर पुरिएको छ। स्थानीय भीमबहादुर मगरको घर पुरिएको हो। पहिरोले खानेपानीको रिजर्भ ट्याङ्की पनि पुरेको छ। अजिरकोट गाउँपालिका–४ माउसुलीपाखाका रामबहादुर मगरको घर पनि पहिरोले बगाएको छ। क्षतिको एकीन विवरण आइसकेको छैन।
यस्तै आँबुखैरेनी–गोरखा सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ। यस्तै, सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ। तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक मदन गिरीले जानकारी दिए। हिजो बेलुकी ५ बजे सञ्चालनमा आएको राजमार्ग राती १० बजे पहिरो झरेपछि पुनः अवरुद्ध भएको हो।
अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा विहान ५ बजे दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको हो। अहिले पानी परिरहेको र बेलाबेला पहिरो झरिरहेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले जानकारी दिए।
मनसुन न्यून चापीय रेखा सक्रिय भएपछि अहिले काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ।जल तथा मौसम पूर्वानुमान माहाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२४ घन्टामा दुई नम्बर र गण्डकी प्रदेशमा धेरै वर्षा
जल तथा मौसम पूर्वानुमान माहाशाखाका अनुसार हाल देशभरको मनसूनी न्युन चापीय रेखा नेपालमा प्रवेश भएर बर्षा भएको अवस्थामा माहाशाखाको विवरणअनुसार गत २४ घन्टामा सबैभन्दा धेरै वर्षा गडण्की प्रदेश ( पोखरा ) र दुई नम्बर प्रदेश ( जनकपुर) मा धेरै बर्षा भएको छ।
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको र त्यसको असरले गर्दा देशका तराईदेखि पहाडी भेगमा समेत भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाको विवरण अनुसार जनकपुरमा ९६ मिलिमिटर पानी परेको छ भने पोखरामा ९७.५ मिलिमिटर पानी परेको छ।
यस्तै सिमरामा ८९ मिलिमिटर, काठमाडौंमा ५३ मिलिमिटर, ओखरलढुङ्गामा ६२ मिलिमिटर, धनगढीमा ३८ मिलिमिटर , नेपालगन्जमा २५ मिलिमिटर, घोराइमा ३८ मसलिमिटर पानी परेको छ।