काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित मुख्य सहरमा आजदेखि थप सार्वजनिक गाडी चल्न थालेका छन् ।असार ३० गतेदेखि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा थोरै सङ्ख्यामा सार्वजनिक गाडी चल्दै आएकोमा आजदेखि अरु पनि थपिएका हुन् । यसअघि साझा यातायातसहित सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले थोरै सङ्ख्यामा बस चलाउँदै आएका थिए ।
सरकारले ल्याएको मौद्रिक नीतिमा व्यवसायीका धेरैजसो माग सम्बोधन भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ पनि आजदेखि गाडी चलाउन सहमत भएको हो । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालका अनुसार सरकारको निर्णयअनुसार अहिले जिल्लाभित्रै मात्रै गाडी चल्नेछन् । काठमाण्डौ उपत्यकामा तीन जिल्लामा गाडी चल्नेछन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बिस्तारै गाडीको संख्या थपिदै जाने बताउनुभयो ।
तर, यातायात व्यवसायीको अर्को संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने आजदेखि सार्वजनिक गाडी चलाउनेबारे कुनै निर्णय नभएको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगेको जनाएको हो । सरकारले गएको असार २३ गते छोटो दूरीमा सार्वजनिक गाडी चल्न सक्ने निर्णय गरेको थियो