अन्तर्राष्ट्रिय

युक्रेनमाथि ठुलो हमलाको तयारीमा रूस : जेलेन्स्कीले मागे थप मिसाइल, लिबिया र बाल्टिकमा ड्रोन आक्रमण

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि नयाँ ठुलो आक्रमणको तयारी गरिरहेको दाबी गरेका छन्।

स्थानीय समयअनुसार सोमबार साँझ सम्बोधन गर्दै उनले युक्रेनी गुप्तचर निकायले रूसी आक्रमणको तयारीबारे सूचना प्राप्त गरेको बताए। उनले नागरिकलाई हवाई आक्रमणको चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।

रूसका क्षेप्यास्त्र र ड्रोन आक्रमण रोक्न जेलेन्स्कीले अमेरिकासहित पश्चिमा देशसँग थप प्याट्रियट मिसाइल उपलब्ध गराउन आग्रह गरेका छन्। उनले भने, ‘युक्रेनलाई प्याट्रियट प्रणालीका लागि मिसाइल आवश्यक छ। हामी अमेरिकाबाट आवश्यक निर्णयको अपेक्षा गरिरहेका छौँ।’

विज्ञापन

जेलेन्स्कीले अमेरिकासँग पीएसी-२ र पीएसी-३ इन्टरसेप्टर मिसाइल तत्काल उपलब्ध गराउन आग्रह गरेका हुन्। युक्रेनी गुप्तचर निकायले रूसको ड्रोन उत्पादन, हतियार निर्माणमा प्रयोग हुने सामग्री खरिद गर्ने सञ्जाल र आगामी आक्रमणको योजनाबारे जानकारी प्राप्त गरेको उनको भनाइ छ।

रूसले प्रयोग गर्ने जेट इन्जिनयुक्त शाहेद ड्रोन रोक्न युक्रेनले नयाँ इन्टरसेप्टर प्रणाली विकास गरिरहेको पनि उनले बताए। साथै, रूसी हतियार उत्पादनमा प्रयोग हुने सामग्रीको आपूर्ति रोक्न कडा प्रतिबन्ध र निर्यात नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ।

जेलेन्स्कीले युक्रेनलाई थप अमेरिकी एफ-१६ र स्विडेनमा निर्मित ग्रिपेन लडाकु विमान पनि आवश्यक रहेको बताए। ग्रिपेन विमान सन् २०२७ को जनवरीमा उपलब्ध हुने अपेक्षा गरिएको छ। रूसका निरन्तर आक्रमणले युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयाससमेत प्रभावित भइरहेको भन्दै उनले युक्रेनको हवाई सुरक्षा बलियो बनाउनुपर्नेमा जोड दिए।

यसैबिच, लिबिया र बाल्टिक सागरमा रूसी जहाजमाथि ड्रोन आक्रमण भएपछि रूसले युक्रेनलाई ‘पीडादायी परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार रूसी रक्षा मन्त्रालयले घटनाबारे अध्ययन गरिरहेको बताएका हुन्।

जेलेन्स्कीले आइतबार लिबियाको बेन्गाजी बन्दरगाहस्थित रूसी युद्धपोत मर्कुरी डुबाएको र हतियार ओसारपसारमा प्रयोग भएको अर्को रूसी कार्गो जहाजमा आक्रमण गरेको दाबी गरेका थिए। लिबियाको पूर्वी क्षेत्रमा रहेको सरकारले भने आक्रमणले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघमा उजुरी दिएको छ।

यसअघि शनिबार बाल्टिक सागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा रूसको स्पार्टा-२ नामक कार्गो जहाजमा पनि ड्रोन आक्रमण भएको थियो। फिनल्यान्डको सेनाले यसमा युक्रेनको संलग्नता रहेको हुन सक्ने बताएको छ। पेस्कोभले यस्ता घटनाले क्षेत्रीय तनाव बढाएको भन्दै यसलाई ‘अत्यन्त खतरनाक प्रवृत्ति’ भनेका छन्।

यसैबिच, रूसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेभले आवश्यक परे आणविक हतियारसहित सबै उपाय अपनाएर देशको रक्षा गर्ने अधिकार रूससँग रहेको चेतावनी दिएका छन्। यद्यपि, युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्नुपर्ने प्रत्यक्ष आवश्यकता अहिलेसम्म नदेखिएको उनको तर्क छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।