रूस र युक्रेन ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्न सहमत भएका छन्। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा अमेरिकाको मध्यस्थतामा भएको दुईदिने वार्तापछि दुवै देशका प्रतिनिधिले यस्तो सहमति भएको बताएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले बुधबार वार्ता सकिएपछि बन्दीहरूको अहिलेसम्मकै ठूलो मानवीय रिहाइ गर्ने सहमति भएको बताए। यद्यपि, आदानप्रदान गरिने बन्दीको संख्या बिहीबार मात्र टुंगो लाग्ने उनले बताएका छन्।
रूसको प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेडिन्स्की र युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरेका रूस्तेम उमरोभले पनि बन्दी आदानप्रदानको योजनालाई पुष्टि गरेका छन्।

करिब नौ महिनापछि दुवै देशका प्रतिनिधिबिच भएको यो पहिलो बैठकमा ठूलो उपलब्धि हासिल हुने अपेक्षा भने कम थियो। रूस र युक्रेनले झन्डै पाँच वर्षदेखि जारी युद्धका क्रममा यसअघि पनि पटक-पटक युद्धबन्दी आदानप्रदान गर्दै आएका छन्।
यसपटकको वार्तालाई अमेरिकाले आफ्नो शान्ति प्रयास अघि बढाउने अवसरका रूपमा लिएको छ। यसअघि वासिङ्टनको मध्यस्थतामा भएका प्रयासले युद्ध अन्त्यका लागि उल्लेखनीय परिणाम दिन सकेका थिएनन्।
कुशनरका अनुसार उनी र अमेरिकी विशेष दूत स्टिभ विटकफ बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न मस्को जानेछन्। त्यसपछि उनीहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्न डब्लिन जाने कार्यक्रम छ।
गत फेब्रुअरीमा स्वीट्जरल्यान्डको जेनेभामा भएको वार्तापछि अहिलेको राजनीतिक परिस्थिति पनि बदलिएको छ। अमेरिकामा भएको मध्यावधि निर्वाचनपछि डेमोक्रेटिक पार्टीले जनवरीदेखि संसद्को नियन्त्रण लिन सक्ने अवस्था छ। त्यसो भए युक्रेनलाई थप सहयोग गर्नुपर्ने दबाब ट्रम्प प्रशासनमाथि पर्न सक्नेछ।
यता रूसको युद्धकालीन अर्थतन्त्र पनि ठूलो दबाबमा छ भने युक्रेनले विद्युत् प्रसारण प्रणालीमाथि भएका लगातारका हवाई आक्रमणको सामना गरिरहेको छ।
युक्रेनी प्रतिनिधिमण्डलका प्रमुख उमरोभले बुधबार युरोपेली अधिकारीहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताएका छन्। रूसले भने युरोपेली देशहरूलाई युद्ध अन्त्यसम्बन्धी प्रत्यक्ष वार्तामा सहभागी गराउन चाहेको छैन। युरोपेली देशहरू रूसको गतिविधि र आगामी योजनाप्रति चिन्तित छन्।
यद्यपि, युरोपेली सरकार, युरोपेली संघ र नेटोका प्रतिनिधिहरू अबुधाबीमा उपस्थित थिए। उनीहरूले युक्रेनी प्रतिनिधिमण्डलसँग परामर्श गरिरहेको अधिकारीहरूले बताएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मंगलबार भएको वार्तालाई रचनात्मक र विषयवस्तुका हिसाबले महत्वपूर्ण बताएका थिए। उनका अनुसार वार्तामा युद्धबन्दी आदानप्रदान, रूसको नियन्त्रणमा रहेका युक्रेनी नागरिकको रिहाइ तथा युक्रेनबाट लगिएका बालबालिकालाई फिर्ता ल्याउने विषयमा छलफल भएको थियो।
त्यसैगरी, युक्रेनको सुरक्षाका लागि आवश्यक प्रत्याभूतिबारे पनि छलफल भएको उनले बताए। तर, रूस र युक्रेन दुवैले आफ्ना मागमा लचकता देखाउने संकेत गरेका छैनन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तालाई निकै उपलब्धिमूलक भनेका छन्। तर, युद्ध अन्त्य गर्ने विषयमा ठोस सफलता हासिल गर्न समय लाग्ने उनको भनाइ छ।
अबुधाबीमा वार्ता भइरहे पनि युद्धमैदानमा भने लडाइँ रोकिएको छैन। यस वर्ष युद्धको अग्रपंक्तिमा धेरै भूभागको नियन्त्रण परिवर्तन भएको छैन। तर, दुवै देशले लामो दूरीका क्षेप्यास्त्र र ड्रोनमार्फत एकअर्कामाथि आक्रमण जारी राखेका छन्।
रूसले रातारात युक्रेनको दक्षिणी जापोरिझिया क्षेत्र र पूर्वी सहर खार्किभमा आक्रमण गरेको थियो। आक्रमणमा सात जना सर्वसाधारण घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ।
यसैबिच, रूसको रक्षा मन्त्रालयले रातारात युक्रेनका ६२७ वटा ड्रोन खसालेको दाबी गरेको छ। तीमध्ये १५० वटा सेन्ट पिटर्सबर्ग आसपासको क्षेत्रमा खसालिएको क्षेत्रीय गभर्नर अलेक्ज्याण्डर ड्रोज्डेन्कोले बताएका छन्।
उनका अनुसार युक्रेनी ड्रोनले रूसको तेल निर्यातका प्रमुख केन्द्रमध्ये एक उस्ट-लुगा बन्दरगाहमा आगलागी गराएका थिए। घटनामा तीन जना कामदार घाइते भएका छन्। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।