अन्तर्राष्ट्रिय

गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली

गाजामा परेको भारी वर्षापछि विस्थापित परिवार बसिरहेका टेन्ट र अस्थायी आश्रयस्थलमा पानी भरिएको छ।

वर्षाका कारण हजारौं परिवारका आश्रयस्थलमा क्षति पुगेको छ भने कतिपय परिवार फेरि विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र विभिन्न सहायता संस्था प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा जुटेका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार नोभेम्बर ६ देखि परेको भारी वर्षा र तीव्र हावाले गाजाका पाँचवटै प्रशासनिक क्षेत्रमा बाढी निम्त्याएको छ। वर्षाले विस्थापनस्थल, अस्थायी आश्रयस्थल, स्वास्थ्य संस्था र अन्य आधारभूत सेवामा असर पारेको छ।

विज्ञापन

नोभेम्बर ८ सम्म २६ हजारभन्दा बढी परिवारले आफ्नो आश्रयस्थल वा सामानमा क्षति पुगेको भन्दै सहयोग मागेका छन्। प्रारम्भिक विवरणअनुसार ६ हजारभन्दा बढी पारिवारिक आश्रयस्थल पूर्ण रूपमा नष्ट भएका छन् भने १७ हजार ४०० भन्दा बढीमा क्षति पुगेको छ। ३ हजार ९०० भन्दा बढी परिवारसँग अहिले बस्नका लागि आश्रयस्थलसमेत नरहेको ओसीएचएले जनाएको छ।

वर्षाका कारण कम्तीमा ६०० परिवार फेरि विस्थापित भएका छन्। कतिपय स्थानमा पानीको सतह १.५ मिटरसम्म पुगेको बताइएको छ। बाढीले टेन्टभित्र राखिएका ओछ्यान, कपडा, कम्बल र अन्य सामान भिजेका छन्।

वर्षासँगै भएको अर्को घटनामा बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। ओसीएचएका अनुसार मध्य गाजाको अल बर्का जलाशय नजिक बालुवाको पहाड खसेर टेन्ट पुरिँदा तीन बालबालिका र दुई महिलाको मृत्यु भएको हो। घटनामा एक जना घाइते भएका छन्। त्यस्तै, अर्को विस्थापनस्थलमा एक शिशुको डुबेर मृत्यु भएको खबर आएको छ।

गाजाको नागरिक सुरक्षा निकायले वर्षाका क्रममा सहायता माग्दै २ हजार १६६ वटा फोन आएको जनाएको छ। तर उपकरण र स्रोतसाधनको अभावका कारण सबै स्थानमा तत्काल उद्धार गर्न कठिन भएको छ।

यसैबीच, सहायता संस्थाहरूले प्रभावित परिवारलाई टेन्ट, त्रिपाल, ओछ्यान, कम्बल र जाडोका कपडा वितरण गरिरहेका छन्। विस्थापनस्थलमा पानी निकास गर्ने, नाली सफा गर्ने र बाढीबाट जोगाउन बालुवाका बोरा राख्ने काम पनि भइरहेको छ।

ओसीएचएका अनुसार मानवीय सहायता संस्थाहरूले किनेका १ लाख ५० हजारभन्दा बढी टेन्ट गाजाबाहिर वितरणका लागि तयार अवस्थामा छन्। तर ती सामग्री गाजाभित्र ल्याउन अनुमति र थप आर्थिक सहयोग आवश्यक रहेको कार्यालयले जनाएको छ।

गाजामा अहिले पनि ठूलो संख्यामा मानिस अस्थायी टेन्ट र कमजोर संरचनामा बसिरहेका छन्। उपलब्ध टेन्ट, पानी निकाल्ने पम्प, भारी उपकरण, इन्धन र आवश्यक पार्टपुर्जाको अभावले राहत कार्य प्रभावित भइरहेको छ।

जाडो मौसम सुरु भएसँगै थप वर्षा र चिसोको जोखिम बढ्ने भएकाले गाजामा तत्काल राहत सामग्री भित्र्याउन ओसीएचएले सम्बन्धित पक्षसँग आग्रह गरेको छ। पर्याप्त आश्रयस्थल र आधारभूत सुविधा उपलब्ध नभए विस्थापित परिवारको अवस्था थप कठिन हुन सक्ने कार्यालयले जनाएको छ। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।