मोरङको लेटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
लेटाङ नगरपालिका–६ का २१ वर्षीय विकास भन्ने भुवानीप्रसाद लम्साललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

गत कात्तिक २८ गते साँझ स्थानीय क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा लम्सालले बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी (निवेदन) मा उल्लेख रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा घटनासम्बन्धी जाहेरी दर्ता भएको थियो। घटना लगत्तै लम्साल फरार भएको प्रहरीले जनाएको छ।
जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न व्यक्तिको पहिचान गरेको थियो। अनुसन्धानका क्रममा मंसिर ५ गते लम्साललाई उनकै घरबाट पक्राउ गरिएको डिएसपी मिश्रले बताए।
पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।