भारत, बिहारको बाढी प्रभावित सारण जिल्लामा हेलिकप्टरबाट खसालिएको राहत सामग्रीको प्याकेट लागेर एक जनाको मृत्यु भएको छ।
भारतीय अधिकारीका अनुसार गत शुक्रबार दिउँसो अमनौर प्रहरी चौकी क्षेत्रको परशुरामपुर गाउँमा राहत शिविर नजिकै यो घटना भएको हो। मृत्यु हुने व्यक्ति सोही गाउँका ५८ वर्षीय अनिल कुमार सिंह रहेका छन्।
मरहौरा उप-विभागीय प्रहरी अधिकारी सविन्द्र कुमार दासले प्रारम्भिक अनुसन्धानमा हेलिकप्टरबाट स्रथानीय समयअनुसार दिउँसो करिब ३ः३० बजे खसालिएको राहत सामग्रीको प्याकेट अनिलको टाउकोमा लागेको देखिएको बताए।

उनका अनुसार घटनापछि अनिलको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको सही कारण खुल्नेछ,’ दासले भने।
अमनौर प्रहरी चौकीका प्रमुख विमलेश कुमारले पनि गाउँलेहरूले राहत प्याकेट लागेर अनिलको मृत्यु भएको बताएका छन्। तर, अनिलको टाउको वा शरीरका अन्य भागमा चोटपटकको कुनै चिन्ह नदेखिएको उनले बताए।
यसै क्रममा सोही क्षेत्रमा हेलिकप्टर कम उचाइमा उड्दा अर्को घटना पनि भएको प्रहरीले जनाएको छ। हेलिकप्टरको हावाको दबाबले टिनको छानो उडेर एक महिलाको खुट्टामा लाग्दा उनी सामान्य घाइते भएकी थिइन्।
उनको स्वास्थ्य संस्थामा उपचार गरिएको र अहिले अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जानकारी गराएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।