भारतको मुम्बईमा करिब ४० वर्षदेखि एक्लै बस्दै आएकी एक वृद्ध महिलाको मृत्युपछि उनका दुई छोरीको खोजी गर्न पत्रिकामा विज्ञापन प्रकाशित गरिएको छ।
ललिता कृष्णमूर्ति नामकी ती महिलाको नोभेम्बर १३ मा मृत्यु भएको थियो। उनको मृत्युपछि छोरी र अन्य आफन्तको कुनै ठेगाना पत्ता नलागेपछि परिवारका सदस्यलाई सम्पर्क गर्न आग्रह गर्दै सार्वजनिक विज्ञापन दिइएको हो। यो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले दुःख व्यक्त गरेका छन्।
मूल रूपमा चेन्नईकी ललिता पछिल्लो चार दशकदेखि मुम्बईमा बस्दै आएकी थिइन्। उनका दुई छोरी रहेको बताइएको छ। तर उनीहरू कहाँ बस्छन् र कसरी सम्पर्क गर्ने भन्ने जानकारी नजिकका आफन्त र छिमेकीसँग समेत थिएन। ललिताले पनि छिमेकीसँग आफ्ना छोरीबारे खासै कुरा नगर्ने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ललिताको मृत्युपछि उनका छोरी, नजिकका आफन्त र परिवारबारे जानकारी भएका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्दै पत्रिकामा विज्ञापन प्रकाशित गरिएको हो। विज्ञापनमा उनको तस्बिरसहित नोभेम्बर १३ मा मुम्बईमा निधन भएको जानकारी राखिएको छ। साथै, परिवारबारे जानकारी हुने व्यक्तिलाई उषा लक्ष्मीनारायण र पवन शेट्टीसँग सम्पर्क गर्न भनिएको छ।
जानकारीअनुसार ललिताको सम्पर्कमा उनका काकाका छोराछोरी रहेको एक दम्पती थिए। उनीहरूले र छिमेकीले उनको अन्तिम समयमा सहयोग गरेका थिए। मृत्युपछि नजिकका परिवारका सदस्य उपस्थित नभए पनि उनीहरूले आवश्यक प्रक्रिया पूरा गरी अन्तिम संस्कार गरेका थिए।
यो घटनाबारे नोभेम्बर १९ मा किशोर सुब्रमण्यम नामका व्यक्तिले सामाजिक सञ्जाल एक्समा जानकारी सार्वजनिक गरेका थिए। उनले पत्रिकामा प्रकाशित विज्ञापन देखेपछि त्यसमा दिइएको नम्बरमा फोन गरेको र पवन शेट्टीसँग कुरा भएको बताएका छन्। पवनबाट ललिताको जीवनका अन्तिम वर्षबारे जानकारी पाएपछि आफू निकै भावुक भएको उनले उल्लेख गरेका छन्।
सुब्रमण्यमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक बच्चाको जीवनमा पहिलो अनुहार, पहिलो स्पर्श र संसार सुरक्षित महसुस गराउने व्यक्ति आमा हुन्। तर केही आमाले पूर्ण रूपमा एक्लै संसार छाड्नुपर्छ। अन्तिम समयमा साथ दिने सन्तान हुँदैनन्, हात समात्ने कोही हुँदैन र बिदाइ गर्ने आवाजसमेत सुनिँदैन।’
उनले वृद्ध आमाबुबालाई आर्थिक सहयोग गर्नु मात्रै पर्याप्त नहुने भन्दै उनीहरूलाई समय र साथ दिन पनि आवश्यक रहेको बताएका छन्। रोजगारी र अवसरका कारण सन्तान टाढा बस्दा कतिपय वृद्धवृद्धा एक्लोपनमा बाँच्न बाध्य हुने उनको भनाइ छ।
घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ललिताको अन्तिम समयमा साथ दिने छिमेकी र आफन्तको प्रशंसा भइरहेको छ। केही प्रयोगकर्ताले उनीहरूलाई रगतको नाता नभए पनि वास्तविक आफन्तको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।