बाँके।हुलाकी सडक विस्तारसँगै बाँके र बर्दियामा उद्योग क्षेत्रमा लगानी बढ्न थालेको छ। बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी) उद्योगको पूर्वाधार निर्माणको काम भइरहेको छ। उद्योग सञ्चालनमा आएपछि पश्चिम क्षेत्रमै बिस्कुट उत्पादन र बजार विस्तारको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।
छिमेकी बर्दियाको गुलरिया नगरपालिका–८ मा चार अर्ब लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ। सुवरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा स्थापना भएको उद्योगले देशभर आफ्नो उत्पादन पु¥याउने लक्ष्य राखेको छ। ती दुई उद्योगले पश्चिम नेपालमा औद्योगिक लगानी विस्तार हुँदै गएको चित्रण गरेको छ।
बाँकेमा ठूला उद्योग स्थापना हुनेक्रम बढेसँगै त्यसको प्रभाव छिमेकी बर्दियामा पनि देखिन थालेको छ। बर्दियामा ठूलो लगानीका दुई चिनी उद्योग सञ्चालन हुनेछन्। तीमध्ये एउटा राजापुर सुगर मिल सञ्चालनमा आइसकेको छ भने अर्को सञ्चालनको तयारीमा रहेको छ।

बाँकेमा जय अम्बे स्टिल, सगरमाथा स्टिल इन्डस्ट्रिज, नेपाल बेलहोप एग्रीटेक, वर्षा रिसाइक्लिङ इन्डस्ट्रिज र विकास फ्लोर मिललगायतका उद्योग सञ्चालनमा छन्। यस बाहेक विभिन्न उद्योगले अनुमति प्राप्त गरी पूर्वाधार निर्माण अघि बढाएका जनाएका छन्।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेमा ठूला उद्योग स्थापना हुन थालेपछि यसक्षेत्र लगानी बढ्दै गएको बताए। द्वन्द्वकालमा प्रभावित भएका पुराना उद्योग पुनः सञ्चालनमा आउनु र नयाँ उद्योग स्थापना हुनेक्रम बढ्नु सकारात्मक भएको उनको भनाइ छ।
“राजनीतिक स्थिरता र ऊर्जालगायत समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ र बाँके औद्योगिक केन्द्रका रूपमा विकास भइरहेको छ”, अध्यक्ष ओलीले भने। शिखर प्लाइउड प्रालिका सञ्चालक चम्पालाल बोथराले पश्चिम नेपालमा ठूलो बजार सम्भावना देखिएकाले उद्योगी बाँकेमा लगानी गर्न आकर्षित भएको बताए।
“ठूलो परिमाणमा उत्पादन बिक्री गर्न सकिने र पश्चिममा बजारको राम्रो सम्भावना देखिएकाले उद्योगीले बाँकेलाई रोजेका छन्”, उनले भने। बोथराका अनुसार अन्य कतिपय स्थानको तुलनामा उद्योग सञ्चालनका लागि जग्गा प्राप्त गर्न सहज हुनु पनि बाँकेमा उद्योगप्रतिको आकर्षणको अर्को कारण हो।
अम्बे स्टिलका सुरेश पण्डितले विद्युत् अनियमितताका कारण चाहे जति उत्पादन गर्न नसकिएको उल्लेख गर्दै करिब ६ वर्षदेखि उत्पादन भइरहेको बताए। बाँकेको जानकी गाउँपालिका–५ स्थित बेलभारीमा रहेको सो उद्योगले विद्युतीय समस्याका कारण एक सातादेखि नै उत्पादन ठप्प रहेको उनको भनाइ छ। औद्योगिक वातावरण भए त्यसबाट उत्पादन राम्रो गर्न सकिने उनीहरुको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी बाँके लगानीकर्ताका लागि सम्भावनायुक्त क्षेत्र भएको विश्वास व्यक्त गर्छन्। राजनीतिक अस्थिरता र ऊर्जा समस्याका कारण विगतमा लगानीकर्ता हिचकिचाउने गरेको भए पनि पछिल्लो समय ठूला उद्योग स्थापना हुनेक्रम बढेकामा खुसी व्यक्त गरे।
जिल्लामा औद्योगिक लगानी बढ्दै जाँदा यसको प्रभाव बर्दियामा देखिन थालेको छ। गुलरियामा चार अर्बको लगानीमा सो टायल उद्योग सञ्चालनमा आएको छ। चिनी उद्योग विस्तारले उखु खेती, किसानको बजार पहुँच, स्थानीय रोजगारी र कृषि आधारित उद्योगको विकासमा योगदान दिनसक्ने अपेक्षा गरिएको छ।
बाँके र बर्दियामा उद्योग विस्तार हुँदै जाँदा पश्चिम नेपालमा उत्पादनमूलक अर्थतन्त्रको आधार फराकिलो बनाउने सम्भावना देखिएको छ। भारतसँग सीमा जोडिएको बाँकेमा औद्योगिक लगानीको सम्भावना वृद्धि हुनुमा नेपालगन्ज–रुपैडिहा नाकाबाट हुने आयात–निर्यात, एकीकृत जाँच चौकीको विकास तथा रेलमार्ग विस्तारलाई लिन सकिनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।