उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।
तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो संकल्प गरेका हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष घिसिङले तिहारको झिलिमिली देख्दा विसं २०७३ अघिका अन्धकारमय दिनहरूको सम्झना आउने उल्लेख गरेका छन्।

त्यतिबेला उज्यालोको महान् चाडसमेत नेपालीहरूले अँध्यारोमा मनाउनुपर्ने बाध्यता रहेको उनले स्मरण गरे।
‘जनताको साथ, विश्वास र हाम्रो दृढ संकल्पले असम्भवलाई सम्भव बनायो,’ घिसिङले लेखेका छन्, ‘देश लोडसेडिङमुक्त भयो, देशको करिब हरेक घरमा बत्ती पुर्यायौं र आज नेपाली बिजुली विदेशसम्म पुगेको छ।’
विगतको लोडसेडिङ अन्त्यको सफलतालाई स्मरण गर्दै उनले अब देशका संरचनागत समस्याविरुद्ध केन्द्रित हुने उद्घोष गरेका छन्।
‘हिजो बिजुलीको अँध्यारो हटायौं, अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ उनले भनेका छन्, ‘चुनौती जति आए पनि हाम्रो यात्रा रोकिने छैन। किनकि अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्छ।’
विगतमा जनताले दिएको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै अध्यक्ष घिसिङले आगामी दिनमा सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि पनि जनसमर्थनको अपेक्षा गरेका छन्।
उनले हरेक घरमा खुसी, मनमा आशा र जीवनमा समृद्धिको उज्यालो छाओस् भन्दै सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।