ब्रेकिङ न्युज
विज्ञापन
समाज

हातमा झोला, मनभरि दसैं

दसैं र तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा पसिना बगाइरहेका नेपालीहरूको घर फर्किने लर्कोले बाँकेस्थित जमुनाहा सीमा नाका यतिबेला गुल्जार बनेको छ।

परिवारसँग चाडपर्व मनाउने अभिलाषासहित भारतका नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला र कुल्लुलगायतका सहरबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन्।

इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार पछिल्लो समय नाकाबाट भारततर्फ जानेभन्दा स्वदेश फर्किने यात्रुको चाप अत्यधिक छ। भारतमा रोजगारीका लागि जाने नेपालीको ठूलो हिस्सा पश्चिम नेपालका पहाडी तथा तराईका जिल्लाका नागरिक रहेका छन्।

विज्ञापन

‘बिहानदेखि साँझसम्मै दसैं मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ,’ इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले भने, ‘प्रत्येक दिन पाँच हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट भित्रिरहेका छन्। चाडपर्व अझ नजिकिँदै जाँदा यो सङ्ख्या थप बढ्ने देखिन्छ।’

यात्रुको चाप बढेसँगै जमुनाहा तथा भारतीय बजार रुपैडिया क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको छ। सीमावर्ती क्षेत्रमा यात्रुहरू रिक्सा चालक, ई-रिक्सा चालक, बस तथा होटल व्यवसायीबाट ठगिने र लुटपाटमा पर्ने जोखिमलाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना लागू गरिएको छ।

रातिको समयमा रुपैडिया आइपुग्ने नेपालीहरूलाई सुरक्षित रूपमा नेपाल प्रवेश गराउन भारतीय प्रहरीसँग समेत आवश्यक समन्वय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा सीमामा सञ्चालन गरिएको ‘यात्रु सहायता कक्ष’ ले यात्रालाई थप सहज बनाएको छ। प्रमुख जिल्ला अधिकारी तामाङले भने, ‘चाडपर्वको समयमा सीमाबाट नेपाल प्रवेश गर्ने यात्रुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना कडाइका साथ लागू गरेका छौं।’

बर्दियाको बढैयाताल गाउँपालिका-७, जमुनीका गोपाल थापा विगत १८ वर्षदेखि भारतको हिमाचल प्रदेशमा कार्यरत छन्। वर्षभरिको थकान बिर्सेर दसैं मनाउन फर्किनुभएका उनलाई यसपटक नाकाको सहायता कक्षले धेरै सहज बनाएको छ।

‘कहाँ जाने, कसरी जाने र समस्या परेमा कहाँ सम्पर्क गर्ने भन्ने जानकारी लिन सजिलो भयो। यात्रुलाई सहज बनाउन यस्तो व्यवस्था हुनु निकै राम्रो हो,’ थापाले अनुभव सुनाए।

दसैंको यो यात्रा केवल घर फिर्ती मात्र नभएर वर्षौंको प्रतीक्षापछिको पारिवारिक पुनर्मिलन पनि हो। दैलेखको डुङ्गेश्वरका ५७ वर्षीय हेमन्त थापा झन्डै पाँच वर्षपछि घर फर्किँदै छन्। सिम्लामा स्याउ टिप्ने काम गर्दै आएका थापा नेपालमा रोजगारी नपाएपछि परिवारको खर्च धान्न भारत पसेका थिए।

पाँच वर्षपछि फर्किँदा जमुनाहा नाकाको जाँच प्रक्रिया व्यवस्थित देखेर उनी दङ्ग छन्। ‘पाँच वर्षअघि जाँदा सीमा नाकामा चेकजाँच निकै अव्यवस्थित थियो,’ उनले भने, ‘अहिले त जाँच गर्ने प्रक्रिया नै धेरै फरक र प्रणालीअनुसार व्यवस्थित रहेछ।’

यस्तै, जाजरकोटको नलगाड नगरपालिका-४ की गङ्गाधरा केसी पनि एक छोरी र दुई छोरालाई च्यापेर बुधबार जमुनाहा नाका हुँदै स्वदेश फर्किए। आठ वर्षअघि भारतको कुल्लु पुग्नुअघि उनले नेपालगञ्जमा गिट्टी-बालुवा बोक्ने र १० महिनासम्म ठेलामा चटपटे बेच्ने काम गरेका थिए।

‘नेपालमै काम गरेर छोराछोरी पाल्ने धेरै प्रयास गरेँ। गिट्टी-बालुवा बोकेँ, ठेलामा चटपटे पनि बेचेँ, तर दुःख धेरै र आम्दानी कम भयो,’ विगत सम्झिँदै गङ्गाधराले भने, ‘काम गरेको पैसा समयमा नपाउँदा भारत जानुपरेको थियो। अहिले आफ्ना छोराछोरीलाई गाउँकै वातावरणमा दसैं मनाउन लैजान पाउँदा मन निकै खुसी छ।’ उनले पनि सीमाको व्यवस्थित जाँचले आफूलाई यात्रा गर्न सहज बनाएको सुनाए।

गत वर्ष दसैंका बेला भएको जेनजी आन्दोलनका कारण घर फर्किन नपाएका सुर्खेतको रामघाटका रमेश विक यसपटक भने समयमै सिम्लाबाट घर फर्किएका छन्। ‘गत वर्षको परिस्थितिले गर्दा दसैंमा आउन पाइएन, यसपटक आफन्त र साथीभाइसँग बसेर चाड मनाउने ठूलो इच्छा छ,’ उनले बताए।

दैलेखका महेश थापा पनि वर्षभरिको परदेशको दुःख बिर्सेर आफ्नै गाउँठाउँमा परिवारसँग सुखदुःख साट्ने उमङ्गका साथ घर फर्किएका छन्।

हातमा झोला र कपडाका पोका बोकेर बालबच्चासहित सीमा पार गरिरहेका हजारौं नेपालीको मुहारमा अहिले वर्षौंपछिको घर फिर्तीको खुसी प्रस्टै झल्किन्छ।

दसैं र तिहारले परदेशिएका नेपालीलाई आफ्नै आँगनसँग जोड्ने पुलको काम गरिरहँदा, सीमामा सुरक्षा संयन्त्रले पनि उनीहरूको सुरक्षित यात्राका लागि सक्रियता जारी राखेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।