पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेको छ।
अनुसन्धानकै क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको टोलीले जबराको महाराजगञ्जस्थित निवाससहित उनीसँग निकट सम्बन्ध रहेको भनिएका केही व्यक्तिको घरमा समेत छापा मारेको छ।
अनुसन्धानमा जबरासँग नियमित सम्पर्कमा रहेका व्यक्तिहरूको आर्थिक कारोबार तथा उनीहरूसँगको सम्बन्धलाई समेत आधार बनाइएको स्रोतले जनाएको छ।

विभागको टोलीले जबराका परिवारका केही सदस्यसहित नवीन बस्नेत, दीपक तिमल्सिना र नारायण दाहाललगायतका व्यक्तिका निवासमा पुगेर आवश्यक कागजात तथा प्रमाण खोजिरहेको बताइएको छ।
जबरासँग सम्पर्कमा रहेका केही कानुन व्यवसायी तथा अन्य व्यक्तिमाथि समेत निगरानी बढाइएको स्रोतको दाबी छ। अनुसन्धानका क्रममा टोलीले सम्बन्धित व्यक्तिको मोबाइल सम्पर्क तथा आर्थिक कारोबारसँग जोडिएका विवरणसमेत अध्ययन गरिरहेको जनाइएको छ।
टोली अचानक निवासमा पुग्दा कतिपय घरमा परिवारका महिला तथा ज्येष्ठ नागरिक मात्र भेटिएको र केही घरमा भने ताला लागेको अवस्थामा रहेको बताइएको छ।
इनम सापकोटाको मोबाइलबाट अनुसन्धान अघि बढेको दाबी
यसअघि जबरा र जेलमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्ध रहेको देखिएको भन्दै इनम सापकोटालाई पक्राउ गरिएको थियो। सापकोटाको मोबाइलमा भेटिएका सम्पर्क तथा अन्य विवरणका आधारमा जबरासँग जोडिएको आर्थिक गतिविधिबारे अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।
यही अनुसन्धानसँग जोडेर सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहाललाई समेत निलम्बन गरिएको बताइएको छ। अनुसन्धानको दायरा बढ्दै जाँदा थप व्यक्ति तथा कारोबारसम्बन्धी विवरणसमेत छानबिनमा आउने सम्भावना रहेको स्रोतको भनाइ छ।
मध्यराति जबरालाई नियन्त्रणमा लिएपछि अनुसन्धान तीव्र
यसअघि सरकारले जबरालाई मध्यराति उनको निवासबाट नियन्त्रणमा लिएर हिरासतमा लगेको थियो। यद्यपि, सरकारले उनलाई पक्राउ गरिएको नभई सुरक्षाका लागि नियन्त्रणमा लिइएको दाबी गरेको थियो।
जबरासँग सम्बन्धित सम्पत्ति तथा आर्थिक कारोबारमाथि अनुसन्धान अघि बढिरहेका बेला उनका निकट मानिएका व्यक्तिहरूको घरमा समेत छापा परेपछि अनुसन्धान थप व्यापक बनेको देखिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।