समाज

ठमेलमा रात्रिकालीन अनुगमन: पर्यटक ठग्ने र मापदण्ड मिच्ने २२ जना कारबाहीमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्ने तथा मापदण्डविपरीत गतिविधि गर्ने २२ जनालाई कारबाही गरेको छ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति गरेको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

अनुगमनका क्रममा ठूला आवाजमा सङ्गीत बजाएर सञ्चालन गरिएका रेस्टुरेन्ट तथा बार, बिनादर्ता सञ्चालित स्पा, अन्तःशुल्क दर्ताविना मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटक ठगी गर्ने डान्सबार सञ्चालक गरी २२ जनालाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले जानकारी दिए।

विज्ञापन

अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकमसमेत फिर्ता गराइएको छ। डान्सबार तथा अन्य मनोरञ्जन व्यवसायका नाममा विशेषगरी भारतीय पर्यटक तथा पाहुनालाई ठगी गर्ने र कुटपिटमा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बताए।

व्यवसाय सञ्चालनका नाममा पर्यटकबाट अनावश्यक रूपमा अत्यधिक रकम असुल्ने प्रवृत्तिमाथि प्रशासनले निगरानी बढाएको छ।

यसअघि गत शुक्रबार गरिएको अनुगमनमा पहिचान गरिएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई पत्राचार गरी जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो।

प्रशासनले उनीहरूलाई आगामी एक साताभित्र नियमअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न तथा आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ।

यस्तै, अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा सामान जफत गरी एक साताभित्र कानुनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिइएको छ।

बिनादर्ता सञ्चालन भइरहेका स्पा तथा बारलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले जानकारी दिए।

सडकमा मदिरा सेवन गरी होहल्ला गर्नेमध्ये केहीलाई सम्झाइबुझाइ छाडिएको र केहीलाई प्रहरी भ्यानमा राखेर नियन्त्रणमा लिइएको महासचिव कँडेलले बताए।

त्यस्तै, ठमेलभित्र रातको समयमा ठूला आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।

अनुगमनका क्रममा सडक पेटीमा चिया तथा चुरोट बिक्री गर्ने नाममा अनैतिक गतिविधि सञ्चालन गर्नेलाई हटाइएको नगर प्रहरीले जनाएको छ।

ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्मा नेतृत्वले तयार गरी जिल्ला सुरक्षा समिति काठमाडौँबाट स्वीकृत भएको ‘ठमेललाई २४ सै घण्टा सञ्चालनसम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८०’ लाई कार्यान्वयन गर्दै लैजाने क्रममा प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।