समाज

बाढीपीडितलाई दु:खमाथि दु:ख: त्रिपाल पनि हावाहुरीले उडाएपछि बिचल्ली

हावाहुरीले त्रिपाल उडाएपछि चुमनुब्री गाउँपालिका-३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन्।

बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री-३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो बताइन्।

उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेकी थिइन्। आफूजस्तै विस्थापित भएका अरू पाँच परिवार पनि त्रिपाल उडाएपछि विचल्लीमा परेको उनी बताउँछिन्।

विज्ञापन

बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उनको फेरि घरवास उठेको छ। ‘बिहान ३ बजेतिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो। फेरि बाढी आएछ कि भनेर उठेर बाहिर हेर्न गएँ। होइन रहेछ’, लालमाया भन्छिन्, ‘हावाहुरी चलेको रहेछ भनेर फेरि पालभित्र आएर सुतेँ। तर एकछिनपछि त्यही पाल पनि उडाएर लग्यो। हामीलाई फेरि खुला आकाशमुनि बनायो।’

राहतमा पाएको ओढ्ने, ओछ्याउने र लगाउने लुगाहरू पनि हावाहुरीले उडाएर विचल्ली बनाएको उनको दुखेसो छ। ‘हाम्रो चिल्लीबिल्ली भयो।’ भाँडाकुँडा र खाद्यान्न भने बाढीले क्षति नपुर्‍याएको एउटा घरमा राखेकाले सुरक्षित रहेको उनको भनाइ छ।

एक्कासि आएको हावाहुरीले जगतका तीन परिवार र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएको त्रिपाल उडाएको स्थानीय विशाल घलेले जानकारी दिए। उनीहरूलाई फेरि पुनःस्थापित गर्नुपर्ने अवस्थामा पुर्‍याएको उनको भनाइ छ।

हावाहुरीले धार्चे-५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको भवनको छाना पनि उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धार्चे-५ का दुई गाउँबस्तीमा, धार्चे-३ को उहियामा र चुमनुब्री-३ को जगत र सल्लेरीमा निजी आवास तथा विद्यालय भवनको छाना उडाएर बिचल्ली बनाएको प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए। जिल्लाभरि भएको हावाहुरीको प्रभावको तथ्यांक संकलन गरिरहेको उनले बताए। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।