दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपालगन्ज रंगशालामा भएको पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै कीर्तिमान सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। यसअघि उनले सन् २०२६ मा भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए।
महिलातर्फको ४०० मिटर व्यक्तिगत मिड्लेमा एनआरएनएकी लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। यसअघि भारतको गुहाटीमा सन् २०१६ मा भएको ११औँ सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।

सोफियाको कीर्तिमान दशौँ राष्ट्रिय खेलकुदको हिट चरणमै लिली र नेपाल आर्मी क्लबकी डुआना लामाले तोडेका थिए। हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्ड र डुआनाले ५ मिनेट २५.१७ सेकेन्डमा दूरी पूरा गर्दै पुरानो कीर्तिमान भंग गरेका थिए। फाइनलमा भने लिलीले ५ मिनेट १७.०१ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा कायम गरिन्।
१५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते। सुदूरपश्चिमका अर्थव सिंहले १८ मिनेट ६.९४ सेकेन्डसहित रजत र नेपाल पुलिस क्लबका रचित बुढाथोकीले १९ मिनेट ५५.६० सेकेन्डसहित कास्य पदक जिते।
महिला ४०० मिटर व्यक्तिगत मिड्लेमा एनआरएनएकी लिलीले ५ मिनेट १७.०१ सेकेन्डसहित स्वर्ण, आर्मीकी डुआनाले ५ मिनेट ३३.३९ सेकेन्डसहित रजत र पुलिसकी देभान्सी जोशीले ६ मिनेट ४२ सेकेन्डसहित कास्य पदक प्राप्त गरिन्।
५० मिटर पुरुष ब्रेस्टस्ट्रोकमा कोशीका विकासले ३०.८४ सेकेन्डसहित स्वर्ण, आर्मीका जाडेन श्रेष्ठले ३१.१३ सेकेन्डसहित रजत र पुलिसका इर्भिन श्रेष्ठले ३१.६० सेकेन्डसहित कास्य पदक जिते।
५० मिटर महिला ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआनाले स्वर्ण, बागमतीकी रोयल प्रजापतिले रजत र बागमतीकै प्रज्ञा ताम्राकारले कास्य पदक जितिन्।
१०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधानले स्वर्ण, पुलिसका इर्भिन श्रेष्ठले रजत र आर्मीका अल्भीन महर्जनले कास्य पदक हासिल गरे। महिला १०० मिटर फ्रिस्टाइलमा एनआरएनएकी मिखा काया थापाले स्वर्ण, आर्मीकी डुआनाले रजत र एनआरएनएकी लिलीले कास्य पदक जितिन्।
२०० मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिवले स्वर्ण, सुदूरपश्चिमका अर्थव सिंहले रजत र बागमतीका रिभान्तबहादुर श्रेष्ठले कास्य पदक जिते। महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएकी मिखाले स्वर्ण, पुलिसकी देभान्सीले रजत र बागमतीकी आर्या महर्जनले कास्य पदक जितिन्।
४ गुणा १०० मिटर पुरुष मिड्ले रिलेमा आर्मीले स्वर्ण, बागमतीले रजत र पुलिसले कास्य पदक जिते। महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेमा बागमतीले स्वर्ण, आर्मीले रजत र पुलिसले कास्य पदक प्राप्त गरे। त्यस्तै, मिक्स ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेमा पनि बागमतीले स्वर्ण, आर्मीले रजत र पुलिसले कास्य पदक जिते।
नेपालगन्ज रंगशालामा चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।