दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल तथा फाइनल खेल जुम्लामा सञ्चालन हुने भएपछि आवश्यक पूर्वाधार र व्यवस्थापनको तयारी सुरु गरिएको छ। खेल सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक टोलीले खेलमैदानको स्थलगत निरीक्षण गर्दै आवश्यक व्यवस्थापनबारे सरोकारवालासँग छलफल गरेको छ।
प्राविधिक टोलीले नेपाली सेनाको परिमला लौचार मैदान र कर्णाली प्राविधिक शिक्षालयस्थित खेलमैदानको निरीक्षण गरेको हो। खेलाडीको प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा अन्य व्यवस्थापकीय पक्षको अवस्था बुझ्न टोली जुम्ला पुगेको हो।
टोलीमा पूर्व साफ तथा एसियाली प्रतियोगिताकी तेक्वान्दो स्वर्ण पदक विजेता एवं तालिम तथा विकास केन्द्रकी निर्देशक संगिना वैद्य, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र राष्ट्रिय खेलकुद परिषद्का उपसचिव विनोद उप्रेती सहभागी छन्। पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक समितिका सदस्य युद्धबहादुर शाही पनि टोलीसँगै जुम्ला पुगेका छन्।

टोलीले जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाका पदाधिकारीसँग खेल सञ्चालनका सम्भावना, पूर्वाधारको अवस्था र व्यवस्थापकीय तयारीबारे छलफल गरेको छ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेका अनुसार प्रतियोगिता सञ्चालनका लागि पत्रकार, एन्फा तथा सरोकारवाला निकायसँग प्रारम्भिक छलफल सम्पन्न भएको छ। मंगलबारदेखि जिल्ला तहमा थप छलफल अघि बढाइएको उनले बताए।
प्रतियोगितालाई व्यवस्थित बनाउन खेलमैदान व्यवस्थापन, खेलाडी तथा अतिथिको आवास, स्वास्थ्य सेवा, सुरक्षा, सरसफाइ र आतिथ्य सत्कारलगायत विषयमा कार्ययोजना बनाउने तयारी गरिएको छ। यसका लागि बुधबार स्थानीय सरकार, राजनीतिक दल तथा सर्वपक्षीय प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको न्यौपानेले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद्का उपसचिव विनोद उप्रेतीले स्थलगत निरीक्षणपछि प्राविधिक टोलीले प्रतिवेदन पेस गर्ने बताए। प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीको सहभागिता रहने उल्लेख गर्दै उनले खेलमैदानको अवस्थासँगै खेलाडीको बसोबास, शान्ति सुरक्षा र अन्य व्यवस्थापकीय पक्ष पनि महत्त्वपूर्ण रहेको बताए।
प्रतियोगिताको तयारीमा स्थानीय तहदेखि विभिन्न संघसंस्था र निजी क्षेत्रलाई समेत सहभागी गराइएको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले प्रतियोगिता सफल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए।
संविधानसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिताका महत्वपूर्ण खेल आयोजना हुनु ऐतिहासिक अवसर भएको बताए। जुम्लाले फुटबलका सेमिफाइनल तथा फाइनल खेल प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले सबै पक्षलाई एकजुट भएर तयारीमा जुट्न आग्रह गरे।
त्यस्तै, प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले जुम्लालाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण आयोजनास्थलका रूपमा छनोट गरिएकोमा कर्णाली प्रदेश सरकार र खेलकुद विकास परिषद्प्रति धन्यवाद व्यक्त गरे। प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने उनको भनाइ छ।
जिल्ला खेलकुद विकास समिति, एन्फा जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, होटल व्यवसायी संघ जुम्ला र नेपाल पत्रकार महासंघ जुम्लालगायत संस्थाले प्रतियोगिता सञ्चालनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतियोगिता भयरहित र व्यवस्थित वातावरणमा सञ्चालन गर्न नेपाली सेनाको देवीदत्त गणसँग समेत आवश्यक व्यवस्थापनका विषयमा समन्वय गरिने जनाइएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका गतिविधि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुरु भइसकेका छन्। यसैक्रममा जुम्लाले फुटबलका सेमिफाइनल तथा फाइनल खेल आयोजना गर्ने अवसर पाएको हो।
प्रतियोगिताले जिल्लाको खेलकुद पूर्वाधारको उपयोगसँगै पर्यटन प्रवर्द्धन र होटल व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। राष्ट्रिय स्तरका खेलाडी, खेल पदाधिकारी तथा खेलप्रेमीको आगमनले जुम्लाको राष्ट्रिय पहिचान विस्तारमा सहयोग पुग्ने स्थानीय सरोकारवालाको विश्वास छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।