एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ विरुद्ध नेपालले बलिङ र फिल्डिङ दुवैमा सानदार प्रदर्शन गरेको छ। नेपाली बलरको कसिलो आक्रमणसामु दबाबमा परेको पाकिस्तान ‘ए’ ले २७.१ ओभरमा ९८ रन बनाउँदा ७ विकेट गुमाइसकेको छ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ विरुद्ध नेपालले सुरुवातदेखि नै रणनीतिक पकड जमाएको छ। सुरुवाती ओभरमा रसिद खानले शीर्ष क्रम भत्काएपछि मध्यओभरमा सन्दीप लामिछाने, अभिषेस गौतम र कुशल भुर्तेलको किफायती बलिङले विपक्षी ब्याटरलाई खुलेर खेल्न दिएको छैन।
नेपाली बलिङ र फिल्डिङको सन्तुलित दबाबका कारण पाकिस्तान ‘ए’ को रनरेट ३.६० मा सीमित भएको छ। खेलको १६औं र १७औं ओभर नेपालका लागि निर्णायक बन्यो। चौथो विकेटका लागि कप्तान अब्दुल समद र हसन नवाजले इनिङ्स सम्हाल्ने प्रयास गरिरहँदा पाकिस्तान ‘ए’ ले मात्र १ रन जोड्दा लगातार ३ विकेट गुमायो।

१६औं ओभरको पाँचौं बलमा खनाल र विकेटकिपर लोकेश बमको चुस्त फिल्डिङमा कप्तान समद (१३ रन) रनआउट भए।
लगत्तै अर्को बलमा सन्दीप लामिछानेले फरहान युसुफलाई शून्यमै एलबीडब्लु धरापमा पारे भने १७औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलले मोहम्मद इमरानलाई पनि खाता नखोली पेभेलियन फर्काए।
६५-३ को स्थितिमा रहेको पाकिस्तान ‘ए’ एकाएक ६६-६ को नाजुक अवस्थामा पुग्यो।
त्यसपछि एक छेउबाट क्रिजमा टिकिरहेका हसन नवाजलाई २६औं ओभरमा अभिषेस गौतमले लोकेश बमको हातबाट क्याच आउट गराउँदै नेपाललाई सातौं सफलता दिलाए।
नवाजले ५९ बलमा २८ रन बनाएका थिए। यसअघि रसिद खानले ओपनर श्यामल हुसेन (६), माज सदाकत (१३) र हैदर अली (१५) लाई आउट गर्दै नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए।
नेपालको बलिङमा सन्दीप लामिछाने अत्यन्तै किफायती देखिएका छन्। उनले ५ ओभरमा मात्र ८ रन खर्चेर १ विकेट लिएका छन्। यस्तै, अभिषेस गौतमले ६.१ ओभरमा १ मेडनसहित १७ रन दिएर १ विकेट तथा कुशल भुर्तेलले ७ ओभरमा २६ रन खर्चेर १ विकेट हात पारे।
रसिद खानले ५ ओभरमा २९ रन दिएर सर्वाधिक ३ विकेट लिएका छन् भने नन्दन यादवले ४ ओभरमा १७ रन खर्चिए। अहिले क्रिजमा रोहेल नजीर २० र अहमद दानियल शून्य रनमा खेलिरहेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।