विज्ञापन
विश्व

‘सिक्किम आइडल’ अब अन्तर्राष्ट्रियस्तरमा

काठमाडौं।भारतको सिक्किममा हुँदै आएको सांगीतिक रियालिटी सो ‘सिक्किम आइडल’ सन् २०२६ देखि अन्तर्राष्ट्रिय स्वरूपमा आयोजना हुने भएको छ। प्रतियोगिताको तेस्रो संस्करणदेखि नेपालसहित विश्वभर छरिएर रहेका नेपालीभाषी गायक–गायिकाले सहभागिता जनाउन पाउने भएका छन्।

यसअघि सिक्किम राज्यमा सीमित रहेको प्रतियोगितालाई यस वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न लागिएको हो। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिक्किम आइडलका कार्यक्रम संयोजक दिवश राईले अक्टोबर ३१ देखि प्रतियोगिताको अनलाइन अडिसन सुरु भइसकेको जानकारी दिए। “हामी नेपालसहित संसारभरका नेपाली प्रतिभालाई यस प्रतियोगितामा सहभागी हुन आह्वान गर्न चाहन्छौं”, उनले भने।

सिक्किमको राजधानी गान्तोकबाट प्रसारण हुने ‘हाम्रो वार्ता टेलिभिजन’ प्रतियोगिताको प्रस्तुतकर्ता हो। सिक्किम आइडल इन्टरनेसनलका प्रमुख कार्यक्रम सञ्चालन अधिकृत डा. मनोज राईले यसअघिका दुई संस्करण सिक्किम राज्यस्तरमा मात्रै आयोजना भएको र यस पटक प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा लैजाने निर्णय गरिएको बताए।

विज्ञापन

उनका अनुसार अनलाइन अडिसनका लागि ल्यान्डस्केप मोडमा खिचिएको दुई मिनेटको भिडियो मात्र स्वीकार गरिनेछ। भिडियोमा प्रतियोगीको अनुहार र स्वर स्पष्ट देखिने तथा सुनिने हुनुपर्नेछ।

साउन्ड सिस्टम प्रयोग गरेर गाइएको भिडियो स्वीकार गरिने छैन। एकभन्दा बढी वाद्ययन्त्र बजाइएको भिडियो पनि अस्वीकृत हुनेछ। एउटा मात्र वाद्ययन्त्र प्रयोग गरिएको भिडियो भने स्वीकार गरिने उनले बताए।

भिडियो पठाउन ह्वाट्सएप नम्बर उपलब्ध गराइएको छ। भारतको कन्ट्री कोडसहितका ९००९१० ६२९६५२९८१३ र ९४७५३७१००२ नम्बरमा भिडियो पठाउन सकिनेछ। इच्छुक गायक–गायिकाले इमेलमार्फत पनि भिडियो पठाउन सक्ने छन्।

काठमाडौंमा नोभेम्बर ३० मा प्रत्यक्ष अडिसन हुनेछ। अडिसनस्थल भने तय भइसकेको छैन। सोही दिन झापाको बिर्तामोड र भारतको देहरादुनमा पनि प्रत्यक्ष अडिसन गर्ने तयारी छ।

यस्तै, डिसेम्बर ३ मा भारतका गुवाहाटी, सिलिगुडी, दार्जिलिङ र कालिम्पोङमा अडिसन हुनेछ। सिक्किमका विभिन्न जिल्लामा डिसेम्बर ६, ७ र ८ मा प्रत्यक्ष अडिसन गर्ने तयारी रहेको राईले बताए।

प्रतियोगितामा सहभागी हुन १५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ। माथिल्लो उमेरको सीमा भने तोकिएको छैन। “१५ वर्षभन्दा माथिका जुनसुकै उमेरका प्रतिभाले गाउन चाहे हामी स्वागत गर्छौ”, राईले भने। प्रतियोगिताको विजेताले १० लाख भारतीय रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तीन लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगीको लोकप्रियता सामाजिक सञ्जालमा प्राप्त लाइक र सेयरका आधारमा मूल्याङ्कन गरिने आयोजकले जनाएको छ। “पैसा खर्च गरेर भोट गर्नु पर्दैन,” राईले भने। प्रतियोगीले भिडियो पठाउँदा आफ्नो नाम, ठेगाना, उमेर र आफूलाई पायक पर्ने प्रत्यक्ष अडिसनस्थल स्पष्ट खुलाउनु पर्नेछ। इमेलमार्फत भिडियो पठाउनेले सम्पर्क नम्बर समेत उल्लेख गर्नुपर्ने उनले बताए।

कार्यक्रममा सिक्किम कला, संस्कृति तथा सम्पदा बोर्डका अध्यक्ष तथा सिक्किम आइडलका संरक्षक सञ्जल दिलपाली राईले पहिलो संस्करणमा जेत्सेन डोना लामा र दोस्रो संस्करणमा ओजस्वी गुरुङ विजेता बनेको जानकारी दिए। ओजस्वी अहिले काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहेको उनले बताए।

“अन्तर्राष्ट्रियस्तरका यस्ता कार्यक्रम नेपालले धेरै अघिदेखि गर्दै आएको छ। यस्ता प्रतियोगितामा नेपाल अनुभवी छ,” राईले भने, “नर्थ बंगाल र सिक्किमका धेरै प्रतिभा नेपाल आएर विभिन्न प्रतियोगितामा सहभागी भइसकेका छन्। यस पटक नेपालका अग्रजबाट सहयोग र मार्गदर्शनको अपेक्षा गरेका छौं ।”

कार्यक्रममा सिक्किम आइडलका निर्देशक एलिन श्रेष्ठले सिक्किममा प्रतिभाको सम्मान हुने गरेको अनुभव सुनाए। उनी दोस्रो संस्करणदेखि प्रतियोगिताको निर्देशकका रूपमा संलग्न छन्।

“सिक्किम आइडल गत वर्षसम्म सिक्किमभित्रै सीमित थियो। अहिले अन्तर्राष्ट्रिय बनेर सिक्किमबाट बाहिर आएको छ,” श्रेष्ठले भने, “नेपाली प्रतिभाले पनि सिक्किम पुगेर प्रस्तुति दिने अवसर पाएका छन्। सिक्किम आइडल इन्टरनेसनल नेपाली प्रतिभाका लागि राम्रो मञ्च बन्नेछ।”

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विश्व बाट थप

थप — विश्व

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।