काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले प्रतिपक्षी दल, संसद्, जनता र सञ्चार जगत्लाई हेपेर ज्यादती बढाएको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा आयोजित कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले सरकार पूर्ण रूपमा स्वेच्छाचारी बन्दै गएको दाबी गरे।
महामन्त्री पौडेलले सरकारले संविधान र कानुनको ठाडो बेवास्ता गरेको र कानुनी व्यवस्थालाई कमजोर पार्दै सत्ताको चरम दुरुपयोग गरिरहेको बताए। उनले राज्यका संवैधानिक अंगहरूलाई समेत कमजोर बनाउने काम भइरहेको उल्लेख गरे। बैठकमा उनले सरकारका यस्ता गलत कदमविरुद्ध संसद्मा सशक्त आवाज उठाउनुपर्नेमा जोड दिएका थिए।
उनले सरकारको स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्न अन्य प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याए। त्यसका लागि तत्काल प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नुपर्ने कांग्रेसको माग हुनुपर्ने उनको भनाइ थियो।

यसका साथै पौडेलले अदालतमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी नेतृत्व मुछिएको भनिएको ‘सेटिङ प्रकरण’ को निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। सरकार आफैंले यसबारे निष्पक्ष छानबिन गर्नेमा आफूलाई विश्वास नरहेको बताउँदै उनले यसका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग अघि सारेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।