संयुक्त अरब इमिरेट्स (यूएई) ले संकटका बेला साहस प्रदर्शन गर्दै विमान र यात्रुको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई प्रतिष्ठित सम्मान प्रदान गरेको छ।
फ्लाई दुबईमा कार्यरत क्याप्टेन मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ बाट सम्मानित गरिएको हो। दुबई सरकारको आधिकारिक मिडिया कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको छ।
अबुधाबीमा आयोजित विशेष कार्यक्रममा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले क्याप्टेन मच्छरसँग भेट गरेका थिए। सो अवसरमा राष्ट्रपतिले उनको साहस र बहादुरीको प्रशंसा गरेका थिए। सम्मान दुबईका युवराज तथा उपप्रधानमन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतूमले हस्तान्तरण गरेका हुन्।

घटना गत सेप्टेम्बर ३० को हो। त्यस दिन फ्लाई दुबईको एउटा विमान दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको थियो। उडानका क्रममा विमानको ककपिटभित्रै सहपाइलटले भारतीय क्याप्टेन मच्छरमाथि ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए।
आक्रमणबाट घाइते भए पनि क्याप्टेन मच्छरले साहस देखाउँदै ककपिटको ढोका खोलेका थिए। त्यसपछि विमानमा रहेका यात्रुहरू भित्र प्रवेश गरी स्थिति नियन्त्रणमा लिन सफल भएका थिए।
कठिन परिस्थितिमा देखाएको साहस र विमानमा सवार यात्रुको सुरक्षाका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै यूएईले उनलाई प्रतिष्ठित सम्मान प्रदान गरेको हो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।