भारत र न्युजिल्यान्डबिचको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेल आज (आइतबार) हुँदैछ।
खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजे न्युजिल्यान्डको ह्यामिल्टनस्थित सेडन पार्कमा सुरु हुनेछ। भारतले शृङ्खलामा ३-१ को अग्रता लिँदै उपाधि जितिसकेको छ।
अन्तिम खेलमा भारतले दुई खेलाडीलाई मौका दिने सम्भावना छ। १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी टोलीमा फर्किन सक्ने चर्चा छ। अघिल्लो खेलमा उनको स्थानमा इशान किशनले खेलेका थिए।

त्यस्तै, अहिलेसम्म शृङ्खलामा खेल्ने मौका नपाएका अलराउन्डर शिवम दुबे पनि अन्तिम खेलमा प्लेइङ इलेभेनमा पर्न सक्छन्। उनले नितिश कुमार रेड्डीको स्थान लिन सक्ने अनुमान गरिएको छ।
भारतले शृङ्खलाको उपाधि जितिसकेकाले अन्तिम खेलमा केही खेलाडीलाई आराम दिएर अन्य खेलाडीलाई मौका दिन सक्छ।
ह्यामिल्टनको सेडन पार्क ब्याटिङका लागि अनुकूल मैदान मानिन्छ। यहाँ ठुलो स्कोर बन्ने सम्भावना रहन्छ।
भारत र न्युजिल्यान्डबीच अहिलेसम्म ३५ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। भारतले २२ खेल जितेको छ भने न्युजिल्यान्डले १२ खेल जितेको छ। एक खेल बराबरीमा सकिएको छ।
भारतले सुरुवाती तीन खेल जितेर शृङ्खलामा ३-० को अग्रता बनाएको थियो। तर चौथो खेलमा न्युजिल्यान्डले भारतलाई ८७ रनले हराएको थियो। उक्त खेलमा न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २५९ रन बनाएको थियो। जवाफमा भारतले ९ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।
अन्तिम खेल जित्दै भारत शृङ्खला ४-१ ले टुंग्याउन चाहन्छ। न्युजिल्यान्ड भने घरेलु मैदानमा जित निकाल्दै शृङ्खलाको सुखद अन्त्य गर्न चाहन्छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।