फ्रान्समा विद्यालयको अवस्था, शिक्षक अभाव र शिक्षामा देखिएको असमानताको विरोधमा भइरहेको विद्यार्थी आन्दोलन थप चर्किएको छ।
स्थानीय समयअनुसार मंगलबार दिउँसो २:०० बजे राजधानी पेरिसमा हुने प्रदर्शनमा २० देखि ४० हजारसम्म मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
सेप्टेम्बरदेखि सुरु भएको आन्दोलन अहिले देशभर फैलिएको छ। प्रदर्शन सुरु भएयता देशभर करिब पाँच हजार मानिस पक्राउ परेका छन्। तीमध्ये अधिकांश नाबालिग रहेको जनाएको छ। आन्दोलनका क्रममा सयौं विद्यार्थी र प्रहरी घाइते भएका छन् भने केही विद्यालय तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको इमानुएल म्याक्रोँ सरकारले जानकारी दिएको छ।

शिक्षा मन्त्रालय र विद्यार्थी संघका अनुसार फ्रान्सका तीन हजार ७०० उच्च माध्यमिक विद्यालय र ३२ विश्वविद्यालयमध्ये ५८९ मा पठनपाठन प्रभावित भएको छ। लिलदेखि मार्सेली, स्ट्रासबर्ग र नान्टेससम्मका विद्यालय अगाडि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्।
विद्यार्थीहरूले विद्यालयमा पर्याप्त शिक्षक, राम्रो पूर्वाधार र आवश्यक स्रोतसाधन उपलब्ध गराउन माग गरेका छन्। विशेषगरी पिछडिएका क्षेत्रका विद्यार्थीले समान शिक्षाको अवसर नपाएको उनीहरूको भनाइ छ। उनीहरूले गर्मीमा कक्षाकोठा अत्याधिक तात्ने, जाडोमा चिसो हुने, फर्निचरको अभाव तथा विद्यालय भवनको कमजोर अवस्थालगायत समस्या पनि उठाएका छन्।
प्रदर्शनका क्रममा केही स्थानमा प्रहरी र विद्यार्थीबिच झडप समेत भएका छन्। सोमबार उत्तरी सहर लेन्समा प्रहरीसँगको झडपका क्रममा १५ वर्षीय विद्यार्थी गम्भीर घाइते भएका थिए। घटनाबारे अनुसन्धान भइरहेको छ। मानव अधिकार संगठनहरूले प्रदर्शनमा सहभागीमध्ये धेरै नाबालिग रहेको बताएका छन्।
सरकारले भने शान्तिपूर्ण प्रदर्शन गर्न र कानुनी तथा लोकतान्त्रिक प्रक्रियाबाट आफ्ना माग राख्न आग्रह गरेको छ। शिक्षामन्त्री एडुअर्ड गेफ्रेले विद्यार्थी नेताहरूसँग छलफल गरे पनि तत्काल कुनै सहमति हुन सकेन। त्यसपछि विद्यार्थी संघहरूले मंगलबार ठुलो प्रदर्शनको आह्वान गरेका हुन्।
फ्रान्सेली ट्रेड युनियनहरूले पनि विद्यार्थीको प्रदर्शनलाई समर्थन गरेका छन्। सीजीटी श्रमिक संघकी प्रमुख सोफी बिनेटले आफ्ना सदस्यहरू हाईस्कूलका विद्यार्थीको सुरक्षा र उनीहरूको मागको समर्थनका लागि प्रदर्शनमा सहभागी हुने बताएकी छन्।
मंगलबारको प्रदर्शनलाई म्याक्रोँ सरकारका लागि महत्त्वपूर्ण चुनौतीका रूपमा हेरिएको छ। विद्यार्थीहरूले आफ्ना माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। एजेन्सीको सहयोगमा


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।