शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या मात्र बढाएर र पुरानै ढर्राको विषय पढाएर उच्च शिक्षामा सुधार नहुने बताएका छन्।
उनले उच्च शिक्षाको स्तर उकास्न नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको उल्लेख गरे।
शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सम्बन्धन बाँड्ने र जथाभावी विद्यार्थी संख्या बढाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।

उनले भने, ‘१५ वटा विश्वविद्यालय हुँदा पनि सबैले उही पुराना विषय मात्र पढाउने हो भने विश्वविद्यालय खुल्नुको अर्थ रहँदैन। अब विशिष्टीकृत विश्वविद्यालय बनाउनेतर्फ ध्यान जानुपर्छ।’
विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने विशेष कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो। मन्त्री पोखरेलले प्रधानमन्त्रीको चाहना अनुरूप मधेस प्रदेशमा माध्यमिक तहसम्मका कम्तीमा १०० वटा विश्वस्तरीय विद्यालय निर्माण वा रूपान्तरण गर्ने योजना अघि सारिएको जानकारी दिए।
भूगोल, जनसङ्ख्या र विद्यार्थी-शिक्षक अनुपातलाई ध्यान दिएर यो काम अघि बढाइएको उनले बताए।
काठमाडौंको कोठामा बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने उल्लेख गर्दै मन्त्री पोखरेलले ग्राउन्डको वास्तविक आवाज बुझ्न सरोकारवालासँग प्रत्यक्ष संवाद गरिएको बताए।
मधेसको शैक्षिक अवस्था पछि परेको सन्दर्भमा नयाँ ऐन र पाठ्यक्रम प्रारूपमा स्थानीय सुझावहरू समेटिने प्रतिबद्धता उनले व्यक्त गरे।
पाठ्यक्रम निर्मणबारे बोल्दै मन्त्री पोखरेलले भने, ‘मुगु र बाराको आवश्यकता फरक हुन्छ। त्यसैले केवल कागजात पुर्याउन होइन, स्थानीय बजार, संस्कृति र समाजको रूपान्तरण सम्बोधन गर्ने गरी व्यावहारिक पाठ्यक्रम बन्नुपर्छ।’
सिटिइभिटी र नर्सिङ शिक्षामा देखिएका समस्याबारे मन्त्री पोखरेलले भारतमा कक्षा १० पछि नर्सिङ अध्ययनले मान्यता नपाउने यथार्थ स्पष्ट पार्दै नयाँ नेतृत्व र नयाँ ऐनमार्फत कोटा तथा सम्बन्धनका समस्याहरू छिट्टै समाधान गरिने विश्वास दिलाए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।