काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ११ देखि १२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ८२ पुरुष र १५ जना महिला छन्।
परिसरले सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरी निगरानी र चेकजाँच तीव्र पारेको छ। अभियानका क्रममा चालु मुद्दाका छ जना फरार प्रतिवादीसमेत पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिए।
प्रहरीका अनुसार बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सेवाग्राहीको बढी उपस्थिति रहने सरकारी कार्यालय आसपासका क्षेत्रमा चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता स्थानमा निगरानी बढाइएको हो।
प्रवक्ता थापाका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले शान्ति, सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्न विशेष निगरानी तथा चेकजाँचलाई निरन्तरता दिने जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।